वर्णमा मोह समाहित
लाल्साका चक्षुहरुबाट नियालिने
क्षणिक आनन्दको दृश्य रहेछ प्रेम
पीडित
उनी भन्छिन्
जुन दृश्यमा,
मलाई हातपात गरिएको छ।
जसरी
जडियाले भट्टीमा साहुनीलाई गर्छ ।
लौं
मेरो प्रेमीले आज बलात्कार गरेछ ,
हिजो मात्र मलाई
हृदयको आगनमा
दाहिने पाइला राख्न लगाएको थियो।
आजकाल फिल्म हेर्दै गर्दा
जबर्जस्तिको `सिन´मा हामीलाई देख्छु
आफ्नै प्रेमको त्यो स्वरुप देखि घिन लागेर आउँछ।
पीडित
उनी भन्छिन्
के हाम्रो भूमिका ?
हाम्रो मिलन त्यहीँ सिनमा मात्र कैद छ?
नाटकघर देख्दा ,
तिम्रो हृदयलाई सम्झन्छु हिजो आज
जहाँ पात्रहरुको मौजुदी
पर्दा अगाडिमात्र हुन्छ।
तिम्रो मौजुदी पर्दा पछाडि
पीडित
उनी भन्छिन्
हैकम जमाउन खोज्छौ
म माथि
प्रेम जताउन खोज्छौ
गिथोल्न खोज्छौ
लथालिङ्ग पारिदिन चहान्छौ
छताछुल्ल पोखिदिन चहान्छौ
जब तिमीलाई ,
म प्रतिको प्रेमको सम्झना आउँछ।
लाजले
पर्दा म लगाइदिन्छु ,
प्रेमको इज्जत बचाउन ।
वास्तवमा
बगर रहेछु म,
खोला तिमी रहेछौ।
बर्खायामको बाढी हाम्रो प्रेम रहेछ।
जहाँ म
आफ्नो अस्तित्व गुमाउँछु ,
तिमी आफ्नो वास्तविकतामा फर्किन्छौ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला