सहरको पनि रहर हुँदो रहेछ ।
सहरलाई
आफ्नो मौलिकता,
जतन गरिराख्ने मन छ ।
न काटिदेऊ न,
स्वच्छ हावा प्रवाह गर्ने हरित रूखहरू
न फाटिदेऊ न,
सहर बस्दा गाउँमा जोडिएका मनहरू,
न ढाँटिदेऊ न,
कसैले निश्चल स्पन्दनहरू,
मेरो बाटो बाटोमा
डुङ्डुङ्ती गनाउने फोहोरको डङ्गुर नहोस्,
भुईँबाट आकाशतिर हेर्दा,
स्वच्छ निलो आकाश देखियोस्,
बादलका फोहराबाट
निर्मल वर्षाले सिञ्चित होस ।
सुन्दर, गगनचुम्बी
कङ्क्रिटको सिसा सुसज्जित
बडेमान महलका
भलाद्मी पाहुनाहरूले
दुर्गन्धित फोहोर नफालिदेऊ न
सडकपेटीका सुन्दर छातीमा,
न भत्काइदेऊ न
असीम आगन्तुकका
बलिया सपनाहरूलाई ।
हेरेर जानेलाई आहा
शब्दले मेरो प्रशंसा गरून्,
थुक्क दुर्गन्धित, भन्दै
नाक खुम्च्याएर न फर्कून् ।
सहरको पनि रहर हुँदो रहेछ
यस्तै यस्तै
युगौँ युग सभ्यताको विकासमा
मेरो पनि केही योगदान होस् ।
कञ्चनपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला