बाटोविहीन डाँडाको चुचुरामा

हाम्रो घर थियो।

 

बा एक्लैले

भीर

पहरा

चट्टान

जङ्गल…..

छिचोल्दै

बाटो खनिरहे।

 

बा एक्लैले खनेको बाटो

बेँसीसम्म पुग्यो

र तीन बाटामा मिसिएर

चौबाटो बनेर

चारैतिर फैलियो।

 

बिस्तारै

बासँगै बाटो पनि बुढो हुँदै गयो

बाटो जति बुढो हुँदै गयो

बाटाको आयु त्यति नै लामो हुँदै गयो

बा जति बुढो हुँदै गए

बाको आयु त्यति नै छोटो हुँदै गयो।

 

एकदिन

बाले नै खनेको बाटो भएर

बाको लास बेँसी खोलाको बगरमा पुग्यो

चौबाटोमा भेला भएर बात मार्ने साथीहरू

मलामी गए।

 

बाको लास जलेर खरानी हुन लागेपछि मात्रै

मैले थाहा पाए,

बाले भीमकाय जङ्गल र पहरा छिचोलेर

यति लामो बाटो

किन एक्लैले खने?

 

बाको लास जलाएर घर फर्किएपछि मात्रै

मैले थाहा पाएँ,

घरदेखि आर्यघाटसम्म जानी बाटो त

एक्लैले खन्नपर्ने रहेछ

बा त स्वयं बाटो रहेछन्

जुन बाटो हिडेर

सन्तानहरू गन्तव्यमा पुग्दा रहेछन्।