सुरेन्द्र रजौरा

घरमा वियोग परेको छ
परिवारको प्रिय व्यक्तिको मृत्यु
एक प्रकारको मानवीय क्षति
मानसिक कष्ट
शोकले छटपटाएका,
दुःखले व्याकुल भएका,
वेदनाग्रस्ट अवस्थामा छन्
मनमा एक प्रकारको
पीर, सुर्ता अनि चिन्ता
अनेकौ रागमा डुबेका छन् परिवार।
घरमा हजुर आमा बित्नुभएको दिन
परिवारका सबैका आँखामा आँसु
मुहारमा निराशा पिर चिन्ता
तर
त्यो नाबालक नाति भने रोएको छैन
एक रत्तिपनि शोकमा डुबेको छैन
अझ
ऊ त दङ्ग परेको छ ।
हजुर आमाको मृत्युमा दुःखी हुनुपर्ने नाति
झन् मन मनै रमाउँदै छ।
पितामहीको शोकमा पनि
मातृसुख खोज्दै छ
आफ्नी आमाको सुख खोज्दै छ।
आज ऊ ढुक्क छ
अब बुवाले तेह्र दिन
जाड खान पाउनु हुन्न
सेता वस्त्रले बुवालाई
हात खुट्टामा हतकडी लगाइदिएको छ
अब बुवाले जाड खाएर
आमालाई कुट्न पाउनु हुन्न
बहुन बाजेले दलिनमा
बाँधेको काचो धागाले
सीमा छुट्टाइदिएको छ
अझ बुवाले त आमालाई
छुन समेत पाउनु हुन्न।
अब
आमाले तेह्र दिनको
शोकमा पनी
सुख पाउनुहुनेछ
शोक भएतापनि
रसिला गुलिया मिठा
फल खान पाउने छिन्
एक छाक निस्तो भात
भए पनि पेटभरि खान पाउने छिन्
मिस्री पानीजस्तै
तेह्र चौध दिन भए पनि
मस्त निदाउने छिन् ।
जीउभरि बुवाको कुटाइले
बनेका नील डामहरू पनि
भरिने छन्
भुत्लाएर झरेका कपाल पनि
पहिलेझैँ पलाउने छन् ।
नाति त्यही खुसीमा
घरभित्र बाहिर दङ्ग पर्दै
बुद्रुक बुद्रुक उफ्रिँदै
आफ्नी आमाको मुहारमा हेर्दै
रमाउँछ।
यो बाल मस्तिष्क पनि कति स्वार्थी
दुःखको घडीमा पनि
आमाको सुख खोज्छ
क्षणिक सुखमा पनि
मस्त रमाउँछ
आफ्नो आमाप्रतिको मायामा
घरमा परेको शोक पनि बिर्सन्छ।
यही त हो बाल मस्तिष्क