मेरो जन्मस्थान गलकोट
वैशाख पूर्णिमा घुम्टे सिद्धेश्वर मन्दिरमा
पूजा अनि दर्शनका लागि भक्तजनहरूको भिड लाग्थ्यो
तर अहिले यादहरूको भिडमात्र लाग्छ ।
भौगोलिक दृष्टिले टाढा भए पनि मेरो गलकोट
अग्लो घुम्टे डाँडामा फुलेका लालीगुराँस
सदाबहार मेरो मानसपटलमा फुलिरहेको छ
स्मृतिका पानाहरू पल्टिँदा घना जङ्गलमा सुसेल्दै, गीत गाउँदै
उकालो बाटो छिचोल्दै हिँडेको पोहोरजस्तै लाग्छ ।
मन्दिरमा पूजा सकेर तल सिद्धथान ओर्लेपछि
उमेर ढल्केका मानिसहरू भने आफ्ना विगतका
मिठा मिठापल सम्झन्थे, युवा र युवतीहरू ठट्टा गरेका
अनि डम्फू मादलको तालमा यानीमया, सालेजो र चुड्काभाका
घन्किएको आवाज अहिले पनि यी कर्ण मागुञ्जिरहेको छ ।
वैशाख पूर्णिमामा मायाँ प्रेममा परेका काली र भुन्टी
अहिले हजुरआमा भइसकेका होलान् सायद तिनीहरूले पनि
विगतका अतीतहरू मैले जस्तै सम्झेका होलान्
समय परिवर्तनसँगै कोरोनाको कहरबीच पनि
यहाँ पुराना यादहरूको भिड लागिरहेछ ।
सायद कोरोनाको कहर नभएको भए
मेरो जन्मस्थान गलकोटमा वसन्तको बहारले
आगन्तुकहरूको स्वागत गर्दै गरेका हुने थिए
सिद्धेश्वरको पूजा तथा दर्शन गर्ने भक्तजनहरूले
घुम्टे डाँडा अनि सिद्धेश्वरको मन्दिर
निकै हर्षोल्लासमय हुने थियो तर
कोरोनाको कहरमा रहरहरू बन्द भए पनि
स्मृतिका महलमा यादहरूको भिड लागिरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।