कविता : अर्कै परिपाटि

सुमित्रा थामी “अविरल” (दार्जीलिङ)

मलाई मेरो हकको एक

पहर

मिठो निद्रा सुत्न देऊ

भन्न नपाई

विकास कुद्न थाल्छ

सड़कको छात्तीलाई निर्मम

चिथ्रोर्दै/पिल्साउँदै

उसको छात्तीक‍ो रगतहरू

उफ् !

उसको चित्कार मेरो

कानसम्म पर्दैन

जून कालो बादलको घुम्टो

ओढेर लुक्छ

ताराहरू हाँस्न थाल्छन् ।

 

उसको चित्कारहरूमा

दुईछेउका

रूख सल्बलाउन थाल्छ

आलिसान भवनहरू हिड़्न

थाल्छन् ।

अनि दोबाटोका कुकुरहरू

भुक्न थाल्छन्।

 

राँको बालेर दिन खोज्दै

हिँड्नेहरू

आफ्नै पाइलाहरूको

डोबहरू

मेटाउँदै हिड़्दैछन्

हो म यही साँघुरो

संसारभित्रको

एउटा मान्छे ।

 

भालेको डाँकमा

हात्केलामा संसार रमाएको

सपना ब्युँझिन्दै हिड़्ने मान्छे

जुनकेरीको उज्यालोमा

आड़ारभित्र विवश हाँस्ने

म यही साँघुरो संसारभित्रको

एउटा मान्छे।