रचना  ‘अनाकार’ (दार्जीलिङ)

कफन बोकेर त्रास

गल्ली, चोक, छेँडी

हुँदै खेदिरहन्छ मलाई

एउटा कुनादेखि

अर्को छेउसम्म ।

म भागिरहन्छु

मौनताको टालो

मुखभित्र कोचरेर

निस्सासिँदै

आफ्नै घाँटी अठ्याउँदै

म मेरो आवाजलाई

बेआवाज बनाइरहन्छु,

कहीं मेरो सुसाइको

कम्पन मात्रले पनि

मेरो निर्वल उपस्थितिको

आभास नफिँजाइदियोस् ।

 

निर्जीव घडीको

सजीव टिकटिकभित्र

म सुनिरहन्छु

मेरो अधमरो मुटुको

पिल्पिलाउँदो धुकधुकी

जसलाई यसघरी म एउटा

चाबी लगाउने खेलौनाभित्र

सुरक्षित राखेर

यन्त्रवत् उभिन चाहन्छु

मेरो भरोसा जस्तै

अलमल्ल परिरहेको

त्यो परको चौबाटोमा …।

 

चौतारीमा बिसाएर

एकछिन थकाइ मार्न

छट्पटिरहेको मेरो श्वासलाई

मुट्ठीभित्र थुनेर म

मन्दिर परिसरबाट

उडाइपठाउन चाहन्छु

एक जोडी अवसादका परेवाहरू ।

 

हल्लाहरू च्यापेर हिँडिरहेका

मान्छेहरूको काँधमा टाँसिएर

निदाउन नसकेका

मेरा विवश रातहरू

खोइ कसको शवयात्रामा

सामेल हुन दौडिरहेछन् !

मोनालिजाको अधरमा

प्रतिविम्बित हुन नसकेको

मेरो टुहुरो मुस्कान

खोइ किन ?

मेरै छातीभित्रको कारागारमा

आत्महत्या गर्न तम्सिरहन्छ !

 

सामान्य देखिनुको

अभिनयमा यसघरी म

प्यारालाइज्ड् इन्द्रेणीका

स्खलित रङहरू टिपेर

समयको भाँचिएको

करङ्गहरूमा सिउरिन थाल्छु

कहीँ मेरा औँलाहरूको

गलत गतिविधिले

म असामान्य हुनुको

पोल न खोलिदियोस् ।

 

 मेरो अनुहारभरि

चिसो पाइतालाले टेक्दै

धमनीदेखि शिरासम्म

ओहोर दोहोर गरिरहने

एउटा सङ्क्रमित दिनको

डिजास्ट्रस हाइलाइट

हेर्दा हेर्दै… मूर्छित जून

रङहीन आकाशबाट झरेर

मेरो आँखाको दहमा डुबेपछि

मन विसन्चो हुन थालेको छ

कहीँ मन आक्रान्त नभइदियोस्

स्वस्थ हुनै नसक्ने मानसिक इन्फेक्शनबाट

त्यसैले क्वरेन्टिन गरिदिएँ मनलाई

आफूदेखि आइसोलेट गरेर ।