सानो छँदा छोराले छिमेकीको काँक्रा चोर्‍यो
मेरो छोराले हुँदै हैन भन्यौ आमा

छोराको ओड पस्यौ

छिमेकीलाई दोष दियौ छोरालाई सफाई

 

साथीसँग खेल्दाखेल्दै झगडा भयो

त्यै मोरो छुच्चो भन्यौ आमा

छोराको गुन गायौ

छोराको साथीलाई दोष दियौ छोरालाई सफाई

 

छोरो बरालिँदै हिँड्न थाल्यो

साथीहरु खराब भए भन्यौ आमा

छोरालाई चोखो पार्‍यौ

संगतलाई दोष दियौ छोरालाई सफाई

 

बाटो हिँड्ने केटी जिस्क्यायो रे छोरोले

त्यै मोरी उत्ताउली थी भन्यौ आमा

हिंसालाई साथ दियौ

पराईलाई दोष दियौ आफ्नालाई सफाई

 

ढोका थुनीथुनी बुहारी कुट्यो छोराले

त्यै राँडीको बेहोरा छैन भन्यौ आमा

अपराधलाई बाटो दियौ

पीडितलाई दोष दियौ अपराधीलाई सफाई

 

अब बूढी भयौ आमा, आँखा पनि देख्न छाड्यौ

कान पनि सुन्न छाड्यौ, हिँड्न पनि सक्न छाड्यौ

छोरोले डोर्‍याउँदै वृद्धा आश्रम पुर्‍याइदियो

कसलाई दोष दिन्छौ आमा, अब कसलाई दोष दिन्छौ आमा?