छन्द – अनुष्टुप्

शास्त्राध्ययनले गाँठो गाह्रो पर्छ फुकाउन

यसमै घोत्लिऊ प्यारी बुझ्ने छौ अनि जीवन।।१।।

 

दिनेश पाण्डेय

आफैँ निर्माण ऊ गर्छ आफैँ साथ रमाउँछ

आफैँ पति तथा पत्नी आफैँ सन्तान पाउँछ ।।२।।

 

आफैँ यो सृष्टि सम्पूर्ण सिर्जना ऊ सजाउँछ

यो ऊ त्यो म तिमी आफैँ बन्दै सत्ता जमाउँछ।।३।।

 

बीज वा फल ऊ आफैँ आफैँ जमिन मृण्मय

आफैँ माली बनी आफैँ पानी सिँच्तछ निश्चय।।४।।

 

बहूनीच्छामि एकोऽहम् भन्दा जीव करोडन

सङ्कल्पले बने आफैँ बताऊँ अब के भन।।५।।

 

नाना सृष्टि जमाएर नानामै नित्य रम्दछ

सबै उस्तै बनाएमा कसरी खेल चल्दछ।।६।।

 

आफू एक छ ऊ सत्य अरू ता प्रतिविम्ब हुन्

खिचेर लिन्छ आफैँ ऊ सिर्जना जेसुकै हऊन्।।७।।

 

ढुङ्ग्री झूट फुली झूट झूट हुन् गहना सब

सुन हो एउटै सत्य बताऊँ भन के अब ।।८।।

 

घ्याम्पा भिउँट वा पाला सुराही झूट हुन् सब

ज्ञानीले सबमा माटो देख्ने गर्दछ वास्तव।।९।।

 

उही माटो सबैमा छ फुटे एकै छ तत्त्वले

रूप वा कार्यले हेर्दा देखिन्छन् भिन्न शारदे।।१०।।

 

लगाई बालुवा थुप्रो बच्चाले खेल खेल्दछन्

बालुवाको चुलोभित्र बालुवा अग्नि बाल्दछन् ।।११।।

 

भातमा बालुवा पाक्छ तरकारी छ बालुवा

नुन तेल र पानी वा मसला पनि बालुवा।।१२।।

 

दालमा बालुवा पाक्छ अचार पनि बालुवा

खोर्सानी बालुवा छर्दै हाल्दछन् छोप बालुवा।।१३।।

 

आहा क्या छ मिठो भन्दै जिब्रो टक्क गरीकन

पड्काई मक्ख ती बन्छन् खाएजस्तो गरीकन।।१४।।

 

कोही भन्छ पिरो ठिक्क कोही पानी पुकार्दछ

कोही सि-सी-सि-सी गर्दै भान्सेलाई हकार्दछ।।१५।।

 

मिठो वा नमिठो भन्दै नाना ती बात गर्दछन्

खाई पछाडि ती फेरि बालुवा साफ गर्दछन्।।१६।।

 

बालुवा एक हो नाना दृष्टि पर्दा अनेक छ

आआफ्ना बुद्धिले त्यस्तै सृष्टि हेर्दा अनेक छ।।१७।।