पुर्खाको रगतले सिन्चित
मेरो देशको माटो
योद्दाको खुँडा र खुकुरीको
निसानिले कोरिएको मेरो बाटो
त्यही माटोबाट सिर्जित म
त्यही बाटोबाट बढ्दै गरेको मेरो पाइला
कसरी सहन सक्छु?
कालापानी लिपुलेक र लिम्पियाधुरामा भएको
विस्तारवादको नाङ्गो हस्तक्षेप?
त्यही सुनेर त मेरो नसा नसामा रगत
उम्लिएर आउँछ
प्रचण्ड गर्मी भएर पनि
दाह्रा किटेर काम छुट्छ
साँहिला दाइ धामी बस्ता कामेजस्तै!

श्रीरामले राज्य गरेको रामराज्यको देश
चाणक्य जन्मिएको चाणक्यको देश
साधु सन्त र महन्तले राज्य गर्दै गरेको देश
लज्जाबोध भएर आउँछ
तिम्रा हर्कतहरु हेर्दा र सुन्दा,
कालीनदी महांकाल भएर
लिम्पियाधुरको पाठेघरबाट
प्राकृतिक रजस्वला भएकी छन्
खबरदार छिमेकि ऋषिमुनिहरु,
हिन्दू संस्कारमा रजस्वला भएकी नारीलाई
कसैले छुने अधिकार छैन!
कयौँ किलोमिटर नाघेर तिमीले निर्मित गरेको
तिर्तिरे धारो, सानो पोखरी अनि नक्कली कालीको मन्दिर
कुनै साम्राज्य गुलाम कम्पनीको मान्य होला
हजारौँ वर्षसम्म स्वतन्त्र देश र जनताले स्वीकार्न सक्तैन
बरु शान्त भएर सोच,
जम्मु र कस्मीरमा तिम्रा सीमा रक्षा गरेर बसेका
हजारौँ वीरहरुका पश्चिम फर्किएका हतियारका ताँती
पूर्वदक्षिण दिल्लीतर्फ सोझिएलान्?
सम्झ त! तिम्रो गुडिरहेको रेलमा सामूहिक बलात्कारको दुस्साहस हुँदै गर्दा
एउटा खुकुरीको भरमा चालिसौँ शीर छेदन भएको
साहसिक गोर्खालीको ज्वलन्त इतिहास!

छिमेकीको तलुवा चाटेर आफ्नो घरमा डडेलो लगाउने
हे मेरो देशका धुन्धुकारीहरु हो
त्यही आमाको काखमा पिसाब फेर्दै जवान भयौ र
जवानीको जोशमा आमाकै कोखमा लात हानेर बिरामी बनायौ
तिम्रा उन्मादका हिसाब किताब
लाखौँ मजस्ता देशभक्त सन्तान हुर्कंदैछौँ
देशद्रोहीसँग अवश्य बदला लिनेछौँ।

मैले सुनेकी थिएँ, सिक्किमका लेन्डुप दोर्जेलाई
ज्वाइँ बनाएर सिक्किम निल्यौ रे!
नठान केपी, प्रचण्ड र शेरबहादुरहरु
तिम्रा ज्वाइँ हुन् र तिम्रै घोडाका सवार हुन् भन्ने
बरु नेपाली वीर यौद्धा बहादुर शाहको नेपाल खोज्न
हुँकार गर्नेछन् र तीन करोड जनता
शीरमा सगरमाथा बोकेर लिम्पियाधुराबाट निस्किएको
माहाकालीको जलले स्नान गर्दै
गोर्खाली माटोको निधारमा टीका लगाउँदै
दस गजामा भीमसेन भएर उत्रने छन्
आफ्नो प्यारो माटोमा,आफ्नै प्रियआमाको लागि
रगत बगाउँदै,जीवन उत्सर्ग गर्नेछ्न्।