एउटा मैलो ध्वाँसे रङको चेग्वेरा टी-शर्ट बाहिर

जम्मै टाँक फुस्केको कमिज लगाएको

थोरै लामो कपाल पालेको

एक कानमा मुन्द्रा समेत लगाएको

कतै रंगीन र कतै खुइलिएर

सेतो धब्बा भैसकेको पेटी बाँधेको

ठाउँ ठाउँमा घोट्टिएर र च्यातिएर

अलिकति घुंडा समेत देखिएको

धोल्ले जिन्स पाइन्ट पहिरेको

पातलो, स्यांखुले मानिस

जब तिर्खाले आत्तिएर

खिइएको चप्पल पड्काउँदै

साँझमा तल सडकबाट

एक अंखोरा पानी माग्न आएको थियो

मैले उसलाई खलाँसी भनेर चिनिहालें

र पानीको साटो मोही दिएर पठाएँ |

 

श्रीमान्, हजुरले के सोचिबक्स्यो कुन्नि,

मलाई मेरै सासुआमाले भन्नुभएको हो-

“टाढाको यात्रामा

खलाँसीभन्दा भगवान अरु हुनै सक्तैन

र उसको गुन पुरै तिर्न पनि सकिंदैन !

 

एउटा दुधे बालकलाई काखमा च्यापेर

अर्कोलाई बायाँ हातको औंलाले डोर्याएर

पीपी झोलामा यावत लुगाफाटा र अरु कुराहरु

अटेसमटेस खाँदेर

सकी नसकी बोक्दै

भाइसंग बिदाइको हात हल्लाएर

उतिबेला म बन्दीपुरबाट बिराटनगर जाँदा

हात तानेर मलाई बसमा चढाईदिने

हात थामेर मलाई बसबाट झराइदिने

एकैछिन बच्चालाई काखमा लिईदिने

उसको दाजुलाई ललिपप किनेर ल्याइदिने

र मलाई प्लास्टिकको झोला हातमा थमाएर

उल्टी नआउने दवाई खोज्न दगुर्ने

कहिले झ्याल खोलिदिने

र कहिले त्यही बन्द गरिदिने

कहिले सीट उठाइदिने

र कहिले त्यही सुताइदिने

अन्तिम स्टेशन पुगेपछि पनि फेरि

ऊ… परको रिक्सा बोलाएर

मेरा केटाकेटी र झोला समेत चढाएर

मन्दिरको बायाँतर्फको गल्ली देखाउंदै

मलाई यहाँसम्म पुर्याईदिन लगाउने

बाटोको मेरो यौटै भगवान् उही थियो |”

 

श्रीमान्, आमाको काखको त्यो दुधे बालक

जरुर पनि हजुर नै हुनुपर्छ|

 

आमा भन्नुहुन्थ्यो-

“जसका आँखा दूरबीनजस्ता तीक्ष्ण

र मन नौनी जस्तो कोमल हुन्छ,

कालकुट बिष समेत पचाउन सक्ने

जसको निलकन्ठको जस्तो घांटी हुन्छ

हेर्दा जस्तोसुकै होस् ऊ

जो बुध्द र मुहम्मदले झैं

सबैको सबैबेला ख्याल राख्छ

र सबैलाई उसैगरी सेवा गर्छ

जो वृन्दावनका कृष्णले जस्तै

हाँस्दै, हँसाउदै, नाच्दै, नचाउँदै

आफू किन्चित नसुतेर

सुतेकालाई समेत उठाएर

गन्तब्यमा झारिदिन्छ

त्यो भगवान नभए अर्को को हुन्छ ?”

 

जब जब घरमा

कुनै खलाँसीको कुरा उठ्थ्यो

आमाको अनुहार धपक्क बल्थ्यो र

उसैलाई सम्झेर आमा भन्नहुन्थ्यो –

“बुहारी,

टाढाको असजिलो यात्रामा

खलाँसीभन्दा अर्को भगवान कुनै हुनै सक्तैन !”