बेरङ्गी मुस्कान
मन खुम्च्याउँदै हाँसिरहेछ एक युवा
लाग्दैछ ऊ प्रश्नसङ्ग आजित छ
कुनै व्यस्त सेलिब्रेटीझैँ।
जिन्दगी कति गह्रुङ्गो लाग्दो हो
जब त्यसमा दु:खका पहाड उभिन्छन्
निराशाका छायाहरू दौडिन्छन्
घाटमा जल्न आतुर लासजस्तै
आतुर छ ऊ पनि जिन्दगी बिसाउन
एउटा शीतल छहारिमा।
एम.ए.पासका सर्टिफिकेट
मे.आइ.कम.इन.बाट
सुरु भएर यु आर नट सेलेक्टेड्मा
टुङ्गिएका थुप्रै अन्तर्वार्ताहरू
स्कुल कलेजमा देखाइएका सपनाभन्दा
धेरै फरक जिन्दगीको मैदानमा
ऊ कसरी  खुल्न सकोस्
मनभरि असन्तुष्टि बोकेर।
बाआमाको आशाको किरण
धमिलो छायामा हराएको कल्पना
कसरी  भेट्न सक्ला र
अभावको सहरमा
जिन्दगी अल्झिरहन्छ मोहको जालोमा
पुग्नै नसकी निश्चित गन्तव्यमा
भौतारिरहन्छन् बटुवाहरू अनगिन्ती गल्लीहरूमा।
मखमली फुल्दैन अचेल
मार्सी धान झुल्दैन अचेल
मीठो मसिनो पाक्न जान्दैन
बासुरी पनि बज्न मान्दैन
बहार लिन गएको एक युवक
घरभन्दा परको सहरमा
गुमाउँदै छ आफ्नो अस्तित्व ।
तनहुँ