रवि सुवेदी

नानी तुला राशि सुन् त !

हजुरबुबा !
भाग्यवृद्धि पाँच वर्षकी नातिनीले तोतेबोलीमा
अस्पष्ट वाक्य भनी
सात दशकमा धेरै पटक सुन्दै आएको धनेले बुझिहाल्यो
आज पनि त्यस्तो नयाँ केही रहेनछ!

नातिनीले सोधी “बा” भाग्यवृद्धि भनेको
के हो? उही अस्पष्ट आवाजमा
धने आफ्नो जीवनको उतार चढाव सम्झन्छ,
ऊ सात-आठ वर्षको थियोे उपचार नपाएर बाउ मरे
आमालाई बाउकै सुर्ताले लग्यो
स्वास्नी पेट दुख्यो भन्दाभन्दै दुखमय संसारबाट अलप भई
यो तीतो अनुभव धुटुक्क निल्दै
धने आफ्ना फुटेका हात र गोडा हेर्दै
आफ्नो चाहुरिएको अनुहार छाम्दै
आक्रोश पोख्दै भन्छ
यी यही हो देखिस्!
नातिनी डराउँदै भन्छे
त्यसो भए त मेरो राशिले भाग्यवृद्धि कहिल्यै नभनोस् !

नातिनी उही प्रश्न दोहोर्‍याउँछे
“बा” सधैँ हजुरको राशिमा मात्रै भाग्यवृद्धि हुन्छ हो ?
हैन
तेरो बा, आमाको पनि त्यही त छ नि!
सबै गाउँको त्यही छ!

ऊ केही बुझ्दिन
त्यसैले सोध्छे
त्यसो भए मेरो पनि त्यही त होला नि?
ऊ भित्र भित्रै गणित बुन्छे
हजुरबुबा हत्तपत्त भन्छन् हैन बा,
तेरोमा भाग्यवृद्धि हुँदैन
किनकि तेरो तुला राशि हैन नि?

त्यसो भए के हुन्छ त? जिज्ञासापूर्ण नजरले हेर्छे नातिनी !
खै बा,
तेरो राशि त अब रेडियोले भोलिमात्रै भन्छ!

( नातिनी अझै अन्योलमा छे भोलि रेडियोले के भन्ला भनेर !,
हजुरबुबा डराइरहेका छन् कतै भाग्यवृद्धि त भन्दैन भनेर  ! )

रेडियोले
प्रमुख समाचार सुरु गर्छ-
आफ्नो कुर्सी जोगाउन र भाग्य चम्काउन नेताहरूबीच खिचातानी, बालुवाटारमा डौडधुप…………!