योगेन्द्र

~~
तिमी कता हिँडेका हौ ?
जलाएर आफ्नै घर
फेरि त्यहाँ कहिल्यै फर्किनु पर्दैन जसो गरी
वर्षौँ अघिदेखि दिव्य कोठामा सजिएका
पारुहाङ र सुम्निमाको चित्र त्यसै बिर्सिएर
फेरि तिमीले कहिल्यै कसैलाई प्रेम गर्नुपर्दैन जसो गरी ?
तिमी कहाँ हिँडेका हौ ?
बोकेर टिफिन बक्सहरूमा आफ्नै जलेको घरको
खरानीको खाजा!
कति ठाउँ बिसाउने सोच छ ?
कतिन्जेल पुर्याउने सोच छ ?
के भयो तिम्रो जिब्रोलाई
किन उच्चारण गर्न बिर्सिएको मुन्धुम शुद्धसँग ?
किन चिप्लिन्छ जिब्रो ?
किन काम्छ हात ?
कतासम्म पुग्ने?
कति ओटा गाडी फेर्ने ?
आफ्नै बाजेको कविता बेचेको पैसाले के – के गर्ने विचार छ ?
बिर्सिएर आफ्नै भाषा
सपनामा आए भने मुन्धुमका देउता
कसरी भन्छौ मनको बात ?
कसरी सुनाउँछौ आफ्नु पीडा ?
कसरी पूरा हुन्छ तिम्रो रहर ?
बेचेर सबै सबै चौरी
हटाएर आफ्नो ” गोठालो” उपनाम
के थप्ने मन छ तिमीलाई आफ्नो नामको पछाडी ?
फुकालेर बख्खु र दोचा यस्तो मुटु काप्ने जाडोमा
कुन घाम खोज्दै बरालिन मन छ ?
बिर्सिएर आफ्नो डाँडा, देउराली
कुन धाम खोज्दै बरालिन मन छ ?
उखेलेर आफ्नै आँगनको फूलको बोट
कुन फूल टिपेर कुन ठाउँ चढाउन मन छ ?
कुन अत्तर दल्ने हो ?
हटाउन आफ्नै हातबाट आफ्नो माटोको गन्ध
कुन छ्याङ पिउने हो ?
बिर्साउन यत्रो वियोगको पीडा ?
कुन शीतल छहारी खोज्दै भड्किने हो ?
छोडेर हिउँको न्यानोपन!
के गर्ने हो?
होला नि त केही सोचेको?
हिँडेपछि जलाएर आफनो घर
माग्न जाँदा बास कुनै पराईको घरमा
आउँदैन घरको बिस्तराको याद ?
सुत्दा उसको पिँढीमा
हान्दा चिसो सिरेटोले
आउँदैन आफ्नै सिरकको याद ?
यत्रो विघ्न निष्ठुरी भएर हिँडेको तिमी
फेर्ने होला नि आफ्नो नाम ?
के राख्ने हो ?
होला नि त केही सोचेको ?