जब रात सुनसान हुँदै जान्छ
म ऊर्जाशील हुँदै जान्छु
तिमी क्रमशः बरफ बन्दै जान्छौ
म ताप बनेर बरफ पगाल्न थाल्छु ।
प्रिय किन तिमी हरेक रात
एकादेशको कथाझैँ
सपनाको राजकुमारीझैँ
सेतो घोडामा
टप्प टप्प सुनसान रात चिर्दै
मात्र दौडिन्छौ रेगिस्थानतर्फ ?
म भने हरेक विपनीमा दियो बनेर
तिम्रो समीपमा जलिरहन्छु ।
प्रिय जब रात रातमा खप्टिँदै जान्छ
तिम्रो थप मौनताले
तिम्रो थप कठोरताले
मलाई जलाउँदै लान्छ
तिमी भने हिउँको काला पत्थरझैँ
रातहरूसँग अडिएर बस्छौ
म दियालो बनेर हरेक रात
तिम्रो नाममा बालिरहन्छु ।
तिम्रो नाममा जलाइरहन्छु ।
घरि तिम्रो बरफरुपी शरीरमा डुबेर
आफैँ बरफ बन्ने प्रयास गर्छु
घरि झर्नाको चिसो पानीमा नुहाएर
आत्मामा दन्किएको अग्निकुण्ड
निभाउने प्रयास गर्छु
थाहा थिएन प्रिय
तिमी र ममा आज यत्रो अन्तर
थाहा छ मात्रै
पानीमा अग्नि बल्न थालेपछि
जाबो तेलको के आवश्यकता
तिमी प्रतिको प्यासको समुद्र
एकाएक आफैँ मन्थन हुँदाेरहेछ ।
म आज नितान्त बरफ बनेको छु
र तिमी एक अग्निकुण्ड ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।