नवराज न्यौपाने ‘मौन’

१)परदेशबाट (शार्दूलविक्रीडित)

टाढा छौ तर छौ मनैभरि यहाँ सम्झेर मै बस्दछु
वासन्ती मधुमासका दिन यहाँ कल्पेर मै बस्दछु
तिम्रो आँगनमा घुमेर जगिया ल्याएर मैले घर
राखेथें मनको कुनातिर अहो टाढा छु ऐले तर

पैसा नै जगमा रहेछ सबको हाँसेर ज्यूने भर
पैसा छैन भने गयो नि सपना यो जिन्दगी जर्जर
प्यारीको सपना बुझेर मनमा उब्जेर आयो कला
फर्की मै सँगमा बसेर कहुँला एक्लै बितेका पला

२) परदेशीका नाममा (मन्दाक्रान्ता)

कोशौं टाढा पर क्षितिजमा आज तिम्रो बसाई
सम्झी सम्झी नयन डिलमा बग्छ आँखा रसाई
हुन्थ्यौं संगै यदि कृषि गरी जिन्दगी धान्न सक्थ्यौं
आलोपालो वरपर घुमी पर्ममा रम्न सक्थ्यौं

बाबा आमा शिथिल वयका धर्मकर्मै अँगाली
नानीबाबू शिशुवय झनै बालक्रीडा सँगाली
बेल्चा बोकी अरबतिर नै बित्छ जस्को जवानी
सोचे जस्तै मिलन रसिलो छैन हाम्रो कहानी