कवि यतीश कुमारको परिचय

कवि यतीश कुमारको जन्म २१ अगस्त १९७६ मा भारतको मुंगेर, बिहारमा भएको हो । भारतीय रेलवेमा मेक्यानिकल इन्जिनियरका रूपमा कार्यरत उनका कविता,लघुकथा, स्तम्भ, समीक्षा तथा संस्मरणहरू देशका प्रसिद्ध पत्रिकाहरू नया ज्ञानोदय, हंस, अहा ज़िंदगी, सन्मार्ग, प्रभात ख़बर, वागार्थ आदिमा प्रकाशित छन् । समालोचन, जानकी पुल, पहलीबार, कविता कोश आदि चर्चित साहित्यिक ब्लगहरूमा पनि यिनका कविताहरू प्रकाशित छन् । यिनी चर्चित उपन्यास, कहानी, यात्रा वृतान्तहरूमा अफ्नो विशिष्ट शैलीमा काव्यात्मक समीक्षाका लागि विशेष प्रसिद्ध छन् । यतीश कुमार कोलकाताको साहित्यिक संस्था नीलांबर कोलकाताका अध्यक्ष हुन् । मानवीय संवेदनाहरूलाई अत्यन्त मिहीन ढङ्गले कलात्मक शैलीमा प्रस्तुत गर्नु उनका कविताको विशिष्ट पक्ष हो । भाषान्तर कविताको यस शृङ्खलामा कवि यतीश कुमारका केही कविताहरूको नेपाली अनुवाद प्रस्तुत गरिएको छ ।

१. शरीर, बजार र उज्यालो- १

(देह, बाज़ार और रोशनी- १)
यतीश कुमार

त्यो कुनामा घाम
केही मधुरो जस्तो लाग्दै छ

रङ्गिन पहिरनमा
हाँसो
मुखौटो लगाएर घुमिरहेछ

त्यो गल्लीमा पुग्नेबित्तिकै
वसन्त पहेँलोबाट गुलाबी बन्न पुग्छ

इन्द्रधनुषी उज्याला किरणहरू
उदास एकरङ्गी हुन पुग्छन्

र त्यहीँबाट गइरहेको हावा
केही ओसिलो
केही शुष्क
नुनिलो भरिएको
भारीपनका साथ
हरेक ठाउँमा लम्पसार पर्छ

हावामा मात्र शरीरको पसिना पौडिन्छ

पीडा र आलस्यमा घोलिँदै गरेको हाँसो
अट्टहास गर्छ
रूप फेरेर भेट्छन् सबै त्यहाँ

केवल माटोलाई थाहा छ
शरीर पग्लिनुको सुगन्ध
र सहन गर्छ
पसिनाका हरेक दुर्गन्ध

तिनै माटाका थुप्रामाथि
बालुवाले बनाउँछ घर
एउटा आठ वर्षको बालक
र ठिक त्यसै बेला
बाह्र वर्षकी एउटी केटी
केही अश्लील पानाहरू च्यात्छे
र लेख्छे स्वतन्त्रताका गीत

पन्ध्र अगस्त बितेको
अहिले केही दिन मात्र भएको छ ।

 

२. शरीर, बजार र उज्यालो- २

(देह, बाज़ार और रोशनी- २)
यतीश कुमार

समयभन्दा पहिल्यै
अँध्यारोले ढकढक्याउँछ ढोका
साँझ पर्दा नपर्दै सबै आफूलाई
पेटको अँध्यारोमा समाहित गर्छन्

रङ्गिन कोठाहरूबाट निस्किरहेको उज्यालो
आँगनमा मधुरो
र ढोकामा अन्धो बन्न पुग्छ

शिशु त्यहाँ जन्म्यो अवश्य
तर कसले गराउँछ स्तनपान
यो निश्चित छैन

आमा मुट्ठीहरूमा धकेल्दै समयलाई
बिहानीको प्रथम प्रहर भेट्नुहुन्छ
त्यति बेला देखिन्छन् अपरिचित अनुहारहरू
जस्केलाबाट बाहिर भाग्दै गरेका

अपराह्नसम्म खित्काहरूमा
नुनिला मुस्कानहरूले शरण पाउँछन्
र साँझ पर्नेबित्तिकै फेरि
सर्प जसरी उठाउँछन् फणा
हरेक साँझ जीवन
बिर्सन्छ आफ्नो परिभाषा
रोदनमा मिसिएको हाँसो
रातभरि गाउँछ बिसुरो गीत

त्यसै बेला चिहानमा गाडिएको आठ वर्षको केटो
केही बासी फूलहरूमा सास फुक्छ
र एघार वर्षकी केटीको हातमा सुम्पिन्छ
चिहानको निबिड अन्धकारमा चम्किन्छन् एक जोडी आँखाहरू ।

 

३. शरीर, बजार र उज्यालो- ३

(देह, बाज़ार और रोशनी- ३)
यतीश कुमार

असमयमै प्रायः फूल फुल्छन् यहाँ
यहाँ फूल फुल्नु एउटा पीडक दुर्घटना हो
यदि फुले भने
किचिमिची पनि पारिने छन्
तब फुल्दै गरेका मुस्कानमा
राता छिटाहरू पनि पर्ने गर्छन्

फेरिँदै गरेका दृश्यहरूमा
पौडिन्छ अचम्मको विक्षिप्तता
यान्त्रिक बनेर भावनाहरू लगाउँछन् मुखौटो

एउटा उमेर हुन्छ
पेटबाट पूरै शरीरमा फैलिँदै गरेको आगोको पनि
उमेरको साँझमा न्यानो
पेटैमा टाँसिएर रहिरहन्छ
उत्रिँदैन शरीरमा
त्यति बेला प्रतीक्षा मृत्युभन्दा पनि खराब लाग्छ

एक्लै उभिएको तुलसीको मठ
कहिल्यै चिम्म गर्दैन आँखा
आँगनमा हाँसिरहने खाडल
सारा आँसुहरू सोस्ने गर्छ
सुक्दैन त्यो कहिल्यै
मात्र दागहरू पखालिरहन्छ

यिनै दृश्यहरूबिच
आठ वर्षको बालक
निधारमा घस्छ
थुप्रोको माटो
र एघार वर्षकी केटीले अब
उसको औँला दह्रोसँग समातेकी छे ।

४. शरीर, बजार र उज्यालो- ४

(देह, बाज़ार और रोशनी- ४)
यतीश कुमार

धमिलो आधा अँध्यारोमा
झिम्किरहेका आँखाका बिच
पिल्पिलाइरहेछन् केही ताराहरू
बालुवाको थुप्रोमाथि
फलाम पगाल्ने तयारी चलिरहेछ

आठ वर्षको बालकले अब
ढुङ्गाहरू कुँद्न सिकेको छ
तिनै मूर्तिहरूमा एघार वर्षकी केटी
अब रङ लगाउँदै छे

ती गोबरमा जन्मेका च्याउ हुन्
एकदम शुभ्र सेता
एक झिल्को जसरी
सूर्यको ताप बन्ने यात्रा हो

विचारमा जमेको बारुद
अब पग्लिन थालेको छ
मनका शीतल तहहरूमा हलचल छ
बाहिर र भित्र एक मात्र बन्नु छ
संसारबाट एउटा नयाँ आन्दोलनको
उद्बोधन हुन लागेको छ

भुँमरीमा बहाना भेटिसकेका छन् उनीहरूले
विस्फोटका लागि तयार छ झिल्को
स्वतन्त्रताको वास्तविक अर्थ
खोज्ने यात्रा हो अब

र यस्तै भयो
हिलोबाट उम्रिएको रातो कमलले
पूरै पोखरीलाई उपवन बनाइदियो
र अब त्यहाँ फूल फुल्नुबाट
पीडा होइन उमङ्गको अभिलाषा हुन्छ

तर यो सहरमा कति पोखरीहरू छन्
जसलाई एउटा रातो कमलको प्रतीक्षा छ ।

●●●

५. चुनौती

यतीश कुमार

त्यहीँ उसैसँग रहन पुगेको छु
जसरी रहने गर्छ हातको छाप
सिसाको झ्यालमा

घोटिँदै छु घोडाको नाल जसरी
अब मलाई
सक्ने छैनौ परिवर्तन गर्न

निरीह झैँ भइरहेछु लिलाम
अब हुन सक्दैन मेरो रोपण

प्रश्नको तोप हरेकचोटि
मतिर प्रहार गरियो
र फेरि हरेक पटक काँधैबाट उडेर गयो
यस पटक पनि म निरुत्तर रहेँ विक्रमादित्य जस्तै

पानी नै नहाली
उनी मलाई घुन जसरी गहुँमा खोजिरहिन्
र म उनका निदाएका स्मृतिहरूको चुल्ठोमा
जुम्रा जसरी घुमिरहेँ

बाँच्न चाहन्छु अब
भँगेराको जस्तो धैर्यता लिएर
हरेक पल जोड्नु छ
टिपेर एक एक त्यान्द्रा त्यान्द्रा

र दिनु छ चुनौती आँधीलाई
बनाउँदै गुँड… ।

 

६. संवादहीन मनुष्य

यतीश कुमार

सबै कारणहरू बन्द छन् दराजका तहहरूमा
र पनि छ व्याकुलता-
खोजिँदै छ तिनलाई

निभेको मैनबत्तीमा
आलोकको आभास अझै बाँकी छ

अलौकिक अनुहारको प्रतिबिम्ब
हेर्दाहेर्दै फुटेको ऐनामा
त्यो मानिस
खुम्चिएको इन्द्रधनुष बन्यो

ओठको सामान्य खुम्च्याइमा
लुकेका छन् तिता दुष्कामनाहरू
जसका कानेखुसीमा देखिँदै छ
कानका आकार बढ्दै गरेको

अपराह्नको एक्लोपनलाई पखाल्दा पखाल्दै
साँझको एकान्तलाई भेटी आयो
अब बाँकी छ रात्रिमिलनको आशा
बाँच्नका लागि मात्र यिनै बाहनाहरू छन्

पुराना अलबमहरूसँग गफिन्छु
क्रमागत मुस्कुराउँछन् अनुहारहरू
र त्यो भिडमा पनि म
प्रतीक्षाका ठेकीहरू भरिरहेछु

रुखको छहारीमा
बसेका छन् कविहरू
जो लेख्दै छन् सबैभन्दा अग्लो हाँगाको टुप्पो देखेको कुरा

र कतै घना अँध्यारोमा
संवादको साटो
बिँडी सल्कायो उसले

संवादहीन मान्छे
सबैभन्दा बढी मौनता ओडेर बसेको छ
नबोल्नु नै उसले
लेखनीको बसैभन्दा ठुलो उपलब्धि हो ।

●●●

७. दु:ख : सुख

यतीश कुमार

आमा आउनुभयो
बस्नुभयो अगाडि
मैले देखिनँ दुःखलाई
आमालाई देखेँ

बा आउनुभयो
हाल्नुभयो अँगालो
मैले देखिन सुखलाई
बालाई देखेँ

एकै छिनमा बाले
अलग्याउनुभयो अँलालोबाट
थाहा पाएँ तब- क्षणिक छ सुख

बनाउँदै स्थायी औषधि दुःखको
आमा अझै त्यी बस्नुभएको छ

र म
दुःखलाई दुःख, प्रेमलाई प्रेम
बुझ्ने यनत्रामा छु ।

●●●

८. किन्नर

यतीश कुमार

सँगै भात खान सक्दिनँ
तर चामलाका दाना
तिमीमाथि नै फ्याँक्छु

म पनि थिएँ सन्देश
नो महिनाको
अविरल प्रेमको
गर्भावधि काटुन्जेल
म पनि मान्छे थिएँ

अब म मान्छेको श्रेणीभन्दा इतर
मान्छेलाई नै आशिष दिइरहेको
त्रिशङ्कु हुँ

निस्केर ब्रह्माको छायाबाट
नीलकण्ठको विषमा घोलिएको छु म

सर्पमुखहरूका बिच सुतिरहेको
अश्वमुखहरूको वंशज
म मङ्गलमुखी हुँ

सुखले प्रवेश गर्न सकेन
मेरो जस्केलामा
त्यसैले म सहभागी छु
तिम्रा हरेक सुखमा

मृत्यु मुक्ति हो

शोकसँग म टाढै रहन्छु

न कुनै गाउँ
न कुनै सहर
मेरो समूह नै देश हो मेरो

किन्नौरदेखि संसदसम्मको यात्रा
त्रेतायुगदेखि कलियुग जति लामो रह्यो

समानताको हक नपाए पनि
अवहेलनाका नसाहरू
जोडिइरहे मसँग
र अहिले पनि म
समाजले बजाएको तालीमा
एउटा चित्कार मात्र हुँ ।
●●●

९. स्त्री

यतीश कुमार

सानी अप्सराको शिर मुसार्छु
उनी मेरो हात
बेर्छिन् आफ्ना औँलाहरूमा

लाग्छ मलाई-
ईश्वरले समातेको छ मेरो हात

निःशङ्क सुतिरहेको देख्छु जब पत्नीलाई
त लाग्छ पृथ्वी शान्त छिन् गहिरो निद्रामा
जब कि उनका परेलाहरूमा
बन्द छन् घरका तमाम समस्या

यो बेला
ईश्वर निद्रामा हिँडिरहेको हुन्छ

जब हेर्छु सुतिरहेकी आमालाई
तब लाग्छ-
निद्रामा पनि ईश्वर
सबैका लागि त्यत्ति नै चिन्तित छ

जीवनमा समस्त ऊर्जा स्रोत
पाइरहेँ जुन जुन स्त्रीहरूबाट
ब्युँझेका-निदाएका आँखाहरूमा
मैले देखेको छु- प्रार्थनाहरूले भरिएको स्वर्ग

मिथक हैन सत्य हो ईश्वर
र तपाईँको छेउछाउ हात समातेर
दिलाउँछ विश्वास-
ईश्वर कुनै पुरुष हुँदैन ।
●●●

१०. म सडक हुँ

( मैं सड़क हूँ )
यतीश कुमार

उनीहरू हिँड्दै छन्
सङ्ख्याहरूको समीकरण भत्काउँदै
र म चुपचाप उनीहरूको धड्कन सुनिरहेछु

धड्कनहरूमा आजकल
एकालाप छ खलाँतीका स्वरहरूको
आलाप अब महाप्रलय हो

उनीहरू हिँड्दै छन्
त धरती चन्द्रमालाई लिएर
एकातर्फ झुक्दै गइरहेछ

असङ्ख्य पदचापहरूमा
केही ध्वनिहरू ताण्डव जसरी आइपुग्छन् अचानक
तर यहीँ जन्मिरहेका शिशुहरूको चाप
यी सबैमा गह्रौँ छ

त्योभन्दा पनि गह्रौँ छ
ती आमाहरूको छाती
जो लिएर दुधका नदीहरू
गइरहेछन् भाग्दै दौडँदै

ढलानमा चिप्लिँदै छिन् अन्नपूर्णा
र सडकमा पूजा जारी छ

सडकहरू मुखर छन् अवरोहबाट आरोहतर्फ
पसिनाको काढा
फियोमा जमेको पित्त हो
गाढा रगत पसिनाको तरल हो

करुणा प्यासी छ
बगाउँदै छ आँसुको नदी
बहाव आफैँ अन्यमनस्क छ

झुम्रो बिछ्यौनामा पुरिएको भविष्य
आफ्ना मुट्ठीहरू कस्छ
आँखाबाट झिल्काहरू हैन
ललकारिरहेका चुनौतीहरू छन्

सूर्य अझै डढेको छ
यिनलाई देखेर
झञ्झा अझै बौलाएको छ
वर्षा रही रहीकन तड्पिन्छ
बिजुली बस् चम्किँदै गइरहेछ

पृथ्वीलाई पट्टीहरू बाँधे जस्तो देख्छु
नजन्मिएको बालकले हिँडेर
भर्खरै नापेको छ पूरा पृथ्वी ।
●●●

अनुवादः निमेष निखिल