एउटा हात मानव नागरिक बनेको प्रमाणपत्र
र, अर्को हातमा भर्खर “आफ्नो” बनेको झण्डा बोकेर
मुस्कुराइरहेको फोटाको युवक
साँच्चै फेसबुकको वालमा लेखेजस्तो
“फाइनल्ली माइ ड्रिम्स कम ट्र्यू”
मुस्कुराएको होला सपना साकार भएर कि
होला लुकाउन अनुहारमा देखिने
देश छोड्दाको पीडा ?

पहिचान गुमाएर “पहिचान” पाएको यो क्षण
शान्त होला उसको समुद्र–मन
वा, उठिरहेका होलान् ज्वारभाटा भित्र–भित्र?
साँच्चै के सोच्दै होला ऊ अहिले–
ललितपुर वा लसएन्जल्स?
मकैको रोटी वाम्याक डोनाल्डको बर्गर?
सगरमाथा वा माउन्ट डेनाली?

अमर शाह

सुखी जीवनकै लागि भए मुस्कान
जीवन अब खुसी होला कि सुखीमात्रै ?
र सम्झन्छ कि सम्झन्न होला
आफ्नो सपना साकार भएकोमा मुस्कुराइरहदा
उसको सपनाले मारेका
बाबुआमाका सयौँ सपना?
भर्खर “आफ्नो”बनेको झन्डा उचाल्दै
देश त छोड्यो मुस्कुराउँदै नवनागरिकले
तर कसरी छोड्ला सधै पछ्याइ रहने छाया–सम्झनाहरू
साँच्चै,
सपनाहरू साकार भए भन्ने उसले
कस्ता देख्ला सपनाहरू अब?