एस. आर दुवाडी

छन्द = अनुष्टुप्

माटो हो सभ्यता मेरो माटोभित्र छ सत्यता
माटो आधार हो मेरो म माटो छैन भिन्नता।।१।।
देखिएको म हूँ घैँटो बनेँ भर्खर मात्र हो
बिलाउने म माटामा माटाकै परिणाम हो।।२।।
माटो कोरेर माटामा भर्छु बुट्टा, रमाउँछु
माटो खोपेर माटामा मूर्ति उस्कै बनाउँछु।।३।।
माटो घस्दछु छातीमा माटाकै वस्त्र गुथ्दछु
ओछ्याई उसकै तन्ना माटै ओडेर सुत्दछु।।४।।
माटाले हेर्छु माटामा अनेकौँ रूप देख्दछु
माट‍ाले बोल्छ मैभित्रै उसैको बात सुन्दछु।।५।।
उसले उसकै पाठ पढाउँछ म पढ्दछु
माटाले उसमै मिल्न सिकाउँछ म सिक्दछु।।६।।
माटामा हुन्छ साहित्य माटामा हुन्छ दर्शन
पूजा गर्दछु माटाको ईशको हुन्छ दर्शन।।७।।
माटो छोएर भन्दैछु माटामा नै छ सत्यता
माटो म हुँ म माटो हो यसमा छैन भिन्नता।।८।।