दिनेश घिमिरे

म कवि होइन हजुर
बाटामा हिँड्दै गर्दा
गरीबको दुःखमा रोइदिन्छु
केही गर्न त सक्दिनँ म
दुई अक्षर लेखिदिन्छु।

मान्छेहरूको भिडमा हिड्दै गर्दा
मान्छेको अनुभुति गर्न सक्दिनँ
स्वार्थको होडबाजी जस्तो देख्छु
मानवीयता हराउँदै गएको देख्छु
मनलाई बुझाउने प्रयत्न गर्छु
अनि कविता लेख्ने प्रयास गर्छु
म कविचाहिँ  होइन है हजुर।

अरूको दुःख अनि पिर व्यथाले
आफैँलाई बिझाएको अनुभूति हुन्छ
समाजको निकृष्ट सोच विचारले
मान्छे आफ्नै हुलबाट एक्लिएको
आज यस्तै जस्तै अनुभूति हुन्छ
गर्न केही पनि सक्दिनँ आफैँमा
मिलनका केही शब्दहरू लेखिदिन्छु
म कविचाहिँ होइन है हजुर।

सबै जनहरू भिन्नताको आवाजमा
आफ्नै एकताको नारा हाल्न खोज्छन्
बुझेर नबुझेझै गरी अपनाउन खोज्छन्
विभक्त हुन खोजेका कैयन् आवाजहरू
खपिनसक्ने गरी आफैँभित्र गुन्जिरहन्छ
अनि फेरी कविता लेख्ने प्रयास गर्छु
म कविचाहिँ होइन है हजुर।

शून्य स्वार्थमा अग्रसर समाजमा
त्याग,हार,दान,धर्म हराएको देख्छु
चिताबाट मृत्युले गिज्याइरहेको हेर्छु
कोही केही बुझ्न तयार छैनन् जस्तो
भावबाट भावना छुट्टिएको  देख्छु
आफैँभित्रबाट आन्दोलित हुन्छु
अनि कविता लेख्ने प्रयास गर्छु
म कविचाहिँ होइन है हजुर।।।