गरिमा पाण्डेय

जीवनको तेह्रौँ वसन्तपार गरेकी ऊ
आज एक्कासी निरास अनि उदास छे
त्रस्त, भयभीत अनि मौन छे।

दाजुभाइ, बुबाको काखमा
सानैदेखि खेल्दै, चल्दै, रमाउँदै आएकी ऊ
आज सँगै खान त परको कुरा
छुन समेत नपाएकी ऊ
महिनावारीको असह्य पीडा सहँदै
हरेकपल, हरेक क्षण तड्पिरहेकी छे।

थोपा थोपा गर्दै
रगत र आँसुको समिश्रणको समुद्रमा डुबेकी ऊ
सम्झिन्छे आफ्नो बालापन
सानो चोट लाग्दा पनि आत्तिँदै फु–फु गर्दिने दाइ
आजतल्लो पेट कट कटखाँदा
उसको अनुहारसमेत हेर्न नपाउँदा मौन छे ऊ।

सहेर त्यो दर्दनाक पीडा कतै
नचिच्याई एकान्तबास बसेकी उसलाई
वनको बाघले भन्दा मनको बाघको डरले
भित्रभित्रै खाइरहेको छ
हिजोसम्म आमाको हात चाटी चाटी खाने उसलाई
आज न त खाना रुचेको छ न त निन्द्रा नै लागेको छ
त्यसैले त ऊ आज निकै मौन छे।

रजस्वला हुँदा सामाजिक, सांस्कृतिक र धार्मिक कार्यमा
प्रतिबन्ध लगाउने समाजमा
महिनावारीको समयमा छोरी पापी र अछुत हुन्छे भने
के मन्दिरमा दिनहुँ पूजित सरस्वती, सीता र लक्ष्मी माता
महिनामा चार दिन रजस्वला हुन्नन् र ?
छोरी जन्मिँदा लक्ष्मीको स्वरूप मानिने हाम्रो समाजमा
पछि यौनाङ्गबाट रगतको बहाव हुँदा
हेलाको दृष्टिले हेरी पर सर भनेर किन भनियो ?
आखिर किन अशुद्ध भनियो रजस्वलालाई ?
आदि इत्यादि अनुत्तरित प्रश्नहरूले
उसको मन विचलित भएको छ
त्यसैले त ऊ मौन छे।

हँसिलो मुहारसहित जन्मेकी ऊ
अन्जान थिई महिनावारीका बारेमा
बिस्तारै चाल पाउँदै गए पनि
समाजअघि खुल्न र महिनावारीको
असह्य दुःख, पीडाभन्दा पनि परिवार र समाजको हेला
किमार्थ भुल्न सकेकी छैन अझै पनि
माया पाउने त्यो समयमा
घृणा पाएको किन भन्ने बुझ्न सकेकी छैन उसले
लाजको विषय बनाइदिएको छ समाजले रजस्वलालाई
महिनामा चार दिन छुनै नहुने बनाइदिएको छ नारीलाई
आखिर के गल्ती छ र उसको?
अन्धविश्वासको मुखौटो लगाएर
धिक्कार्छन् रजस्वलालाई भन्दै
फोहोर, पाप, श्राप, अशुद्ध
अनि अपराध, असामान्य र लाज
रजस्वला त प्राकृतिक प्रक्रिया हो नि
यही उसको मनोभाव नबुझिदिएर त समाजले
आज पनि ऊ मौन छे।

यद्यपि उसले आफ्नो चित्त बुझाउँछे
किनकि ऊ छोरी हो, समाजलाई नजिकबाट नियालेकी छे
घर छोडेर छाउपडीको झ्यालबाट सुन्दर संसार नियाल्दै
समाज परिवर्तनको सुन्दर सपना सजाउँछे उसले
हटाएर पुरानो सोच, अब त अघि बढ्नुपर्छ
महिनावारीको गलत परिभाषा
अब मैले सच्याउनु छ जसरी पनि भन्दै
हजारौँ कष्टसँग बाँधिएकी ऊ
वर्षौंँदेखि दबिएको उसको आवाज
अब बुलन्द रूपमा प्रकट गरी मौनता तोड्न खोज्छे भन्दै
‘पर सर्ने होइन, अब अघि सर्नुपर्छ ।’