संगित मगर

कहिलेकाँही चाहन्छु
यो समय यस्तो नभइदियोस्।
–यो सकस
–यो मौनता
–यो एक्लोपन
–यो मौसम
बरु झरझर झरोस पानी
अनवरत  बगोस् बलेसीबाट
म झरीको सङ्गीत महसुस  गर्न चाहन्छु।
अझ दर्कियोस बेस्सरी
म बेपर्वाह रुझ्न चाहान्छु
जसले
पखालेर लगोस्
धुमिल सम्झनाहरू पनि
र म
स्निग्ध हुन चाहन्छु!
बरु चलोस् बेस्सरी हुरी
सबै उडाई लगोस्
जे छन्  बाँकी पनि
म रित्तो-रित्तो हुन चाहन्छु।
बरु आइदियोस् भेल
भत्काइदियोस् पर्खालहरू
पोखिउन् पहिरोहरू मैमाथि
म आवेगहरूले पुरिन चाहन्छु
सबै भत्किएर
सबै रित्तिएर
म पुर्ण बिनिर्माण हुन चाहन्छु।
तर  मेरो ती तमाम चाहना विपरीत
धुम्म छ कुहिरो
ऐँठन परेझैँ हुन्छ भित्र कतै
हराउँछन् सम्बन्धहरू आँखै सामुन्नेबाट
जस्तो कि भर्खरै एउटा जादू भयो
वा भर्खरै म बिउँझिएँ सपनाबाट,
त्यो एउटा नमिठो सपना
खाली-खाली छन्  हत्केलाहरू।
रिमझिम-रिमझिन झरिरहेछ पानी
तप्प-तप्प, थोपा-थोपामा
म एउटा लामो जिन्दगी
ओत लागि बसेको छु
वर्षौँदेखि यहीँ कतै।
लाग्छ, स्थिर छ समय
कसो-कसो
चलायमान छ यो धड्कन
र त
म स्थिर जिन्दगी लिएर
यो अनकन्टार ओतमुनी
एउटा बर्सात पर्खेर बसिरहेछु।
– दाङ