अरुणकुमार साह

वीरगञ्ज भन्सारमा
भर्खरै भेटिएको दाहालजी
मेरो भाइ अरुणकुमार साहलाई
शङ्का गर्दै सोध्छ :-
“यो को हो? यहाँ खतरा हुन्छ है ।”
निःस्तब्ध, निःस्तब्ध हुन्छु म,
बाइकपछाडि मलाई गुडाउँदै बोल्छ;-
“दाइ इन्डियामा मलाई नेपाली भन्छ, नेपालमा बिहारी;
बडा दिक्कत लाग्छ हउ कैले त ।”
निःस्तब्ध, निःस्तब्ध हुन्छु म ।।।
पाटनको गल्ली-गल्ली
रत्नपार्कको चौँडा सडकहरूमा
म उसको साइकलपछाडि
यात्रा गरिरहँदा पनि उसले
एकबार सोधेको थियो;
“दाइ बुद्ध गोरो थिए कि कालो?
मधेसी-बुद्ध मेरो हो भनी उफ्रने पहाडेहरू
म मधेसीलाई किन विदेशी देख्छन् दाइ?”
निःस्तब्ध, निःस्तब्ध हुन्छु म ।।
हैन हउ दाइ???
मधेस नेपालको हो रे
सीता नेपाली हो रे
तर मधेसीको अनुहार हेरेरै किन
‘इन्डियन’ भनिन्छन्
अनुहारभरि रिस भरेर कराउँछ अरुणकुमार साह;-
“Buddha was born in Nepal,
भन्नेहरू हो…
मधेसीचैँ कहाँ जन्मेएको रे?”
निःस्तब्ध, निःस्तब्ध हुन्छु म ।।
पाटन-दरबार स्क्वायर पस्तै गर्दा,
“इन्डियनले टिकट काट्नुपर्छ,” एक सुरक्षाकर्मी बोल्छ
कलेजको आइडी कार्ड देखाएर चुप पार्छ ऊ….
यसपटक
निःस्तब्ध, निःस्तब्ध हुन्छ ऊ ।।
“अरे यार म सिक्किमको हुँ
मेरो पनि परिचय-पत्र माग्नुस् न “
म कराउँछु,
यही पल
एक हुल परेवा भुरुरुरुरु उडी आएर
अरुणकुमार साहको जिउभरी बसिदिन्छ ।
…बरालजी भन्नुहुन्छ,
“अरे यार म पनि मधेसी नै हुँ
३ पुस्ताबाट मधेसै बसेको छु ।”
हो पक्कै हो,
“तर कैलै तपाईँलाई बिहारी भनिएको छ?
कसैले पाटन-दरबार स्क्वायरमा परिचय-पत्र मागेको छ?
हँ बरालजी!!!
मधेसी हुन यति टेस्ट पास त गर्नैपर्छ,
अब भने,
निःस्तब्ध, निःस्तब्ध, बरालजी;
अनि मुसुक्क मुस्काएर बोल्छ
अरुणकुमार साह,
“दाइ म अब बुद्धको कालो चित्र बनाउँदै छु,”
र, यसै पल
अचानक हारामको बगैँचामा* सेतो फूल फुल्छ ।।।।
(राजा सलहेशको किम्बदन्तीसँग सम्बन्धित यो बगैँचामा हरेक वैशाख एक गते सेतो फूल फुल्छ, एकदिनको लागि ।)