विकास पौडेल

यो समय छ
सबैभन्दा बतासिने हाँगाहरूको
सबैभन्दा निश्चल देखिने निलो आकाशको
स्क्रिनमा जस्तो
तारमा
पातमा
कपडा झुन्डाउने बाँसको घारोमा
झुन्डिएर
बिस्तारै
बिस्तारै
चुडिइरहेका पानीका थोपाहरूको ,
यो समय छ बाटोमा हिडिरहेका तरुनीलाई
माछा बनाइदिने बर्सातको
जो भिजिरहेका छन्
बिस्तारै… बिस्तारै माथिबाट र
बिस्तारै ..बिस्तारै तलबाट
पर
स्वामीको बोटमुनी
भिज्न थालेको छ मानिस
बीच भागको देब्रे कुनाबाट
जब आखाको सीमा कटेर केही कल्पना घुम्ती कट्छ
स्वामीको बोटमुनीका केही रहरहरू
तारको पानीजस्तै चुडिइरहेको छ बिस्तारै
जो झुन्डिरहन्छन् केवल
हावाको झोकाले नखसाउन्जेल
घुम्तीको दु:खद सत्यले नबिउझाउन्जेल
                                    पत्रकारिताको विद्यार्थी