आविष्कार कला

 

चारैतिर खुला आकाश
नयनले देखेसम्म सौन्दर्यको खानी
डुल्नलाई हेक्टरौँ, हेक्टर
तर
पसिना पोख्ने सानो बारी ।।

नेपाली भूमिमा मोती फलाउने चाहाना
स्वामित्वमा
पुर्खाैँदेखि
पुग नपुग
हलाको दुई सियोल
मोती फल्ने हेक्टरौँ हेक्टर उर्वर भूमि
छैन
पसिना प्रेमीको स्वामित्वमा ।।

स्वाभिमानीको देशमा
पसिना चुहाउने
मोती फल्ने ठाँउको अभाव छैन
तर किन ?
यहाँका
नौजवानलाई
पसिना पोख्न
मार्गनिर्देश गर्छ त्यो हरियो राहदानी ।।

आकाशको यात्रामा
चाहाना र कल्पनाको भुमरीमा
बन्छ
विश्वको ठुलो ग्रन्थ ।।

सीमा बाहिर
के पो राम्रो हुन्छ
बालुवामा पानीजस्तै हो मरुभूमिमा पसिना पोख्नु
स्वाभिमानी नेपालीको लागि ।।

उता मरुभूमि हाँसेको छ
गोर्खालीको पसिनामा
प्राकृतिक स्वर्गको देशमा
सीमा बाहिरको चामलले
धन्य नेपाली परिवार बाँचेको छ ।।

जहाँको सौन्दर्यमा
विश्वका मानव र पक्षीहरू
डुबुल्की मार्छन
त्यहाँका नौजवानहरू
किन सीमापारि
ज्यान फाल्छन् पेटका लागि ।।

नेपाली धर्तीमा
उकुसमुकुस समृद्धिका खानीले
आधुनिक सगरमाथा बनाउन
विश्वभरका बुद्धका मूर्तिमा
सुनको लेप लगाउन
नेपाली धर्तीमा
पसिना पोख्न कहिले पाइन्छ सरकार ?!

 

प्युठान