सन्तोष राज भट्ट

ती घडीका सुईहरूलाई नी खुब जाडो भएछ ,
खप्पिएर बसेका छन् मध्यरातमा,
बाहिर झ्याँउकिरीचाहिँ अझै कराउँदै छन्
सायद कोही आफन्तले छोडी गएको होला ,
मुखिया बाको घरको टुकी पनि निभिसकेछ ।
यहाँ सब सुनसान छ ,
म, कहिल्यै नआउने गरी हिँडेकी तिमी,
र कहिले नजाने गरी बसेका तिम्रा याद ।

तिमीले देख्दा ३ लेख्न नजान्ने छोरा,
अचेल ३ कक्षामा पढ्छ,
अनी, तिमीले देख्दै नदेखेकी छोरी,
अचेल खेल्ने भाकी छ

साँझपख जब रातो सूर्य देख्छु,
तिमीले निधारमा लाउने ठूलो रातो टीका याद आउँछ,
राति जब सेतो चन्द्रमा देख्छु ,
तिम्रो मुहार याद आउछ ।

छोराले जहिल्यै सोध्ने प्रश्न
आमा खै ?
मैले दिने एउटै जबाफ ‘मामाघर’ ।
आज छोराले बिस्तारै भन्यो,
आमा लिन मामाघर जाऊँ न ,

अब म कसरी भनूँ उस्लाई
यमराजको उपनाम मैले मामा राखेको हुँ ।
यमलोकको उपनाम मामाघर राखेको हुँ ।
त्यहाँ जाने ढोकामात्रै छ ।
आउने ढोका छैन ।

 महेन्द्रनगर, कन्चनपुर । पेशा : बैङ्कर ।।