वरका दाना खाँदै शीतल तापिरहेका गोठालाहरू
बगरमा बल्लतल्ल उम्रिएका सिरुका पात सिला गर्दै
भोकसँग जुधिरहेका घरपालुवाहरूझैँ
बाँचिरहेका मजदुरहरू
गुलेलीको निसाना चुकेर
उम्की बाँचेका चराहरूझैँ जिउँदा शहीदहरू
बेमतलबी साहुका
बेतलबी सेवारत खेतलाहरू
झरीमा रुझ्दै ओत लाग्न ओडार खोजिरहेका
जङ्गली बटुवाहरूझैैँ
 देशनामको ओडारमा शरण  मागिरहेका निःस्वार्थी बटुवाहरू
आफ्नै शरीर
 डरसरि बोकी हिँडेका युवतीहरू
सुदुर भविष्यको खोजीमा
सुदुर पुगेका ‌युवा मनहरू
ती,
निरन्तर अनन्त मुक्ति खोजिरहेकाहरू!
पैतालाको धुलो भई
पैतालाझैँ पिल्सिएकाहरू
सदैव तिम्रा पाउँका जुत्ता सिलाएका चमारहरू
श्रम सीप सप्पै चुला र भँडारमा पुग्दा पनि
पानी नचलेकाहरू
लाज ढाकिदिने दर्जीहरू
हतियार बनाइदिने विश्वकर्माहरू
चुलो बालिदिने जननी जोहीहरू
ऋणमा डुबेका गरीबहरू
खाडीमा खटेका श्रमिकहरू
सिमानामा लालपुर्जा ‌भई
जमिन गुमाएकाहरू
नगरमा नागरिक भएर
नागरिकताविहीन भएकाहरू
सिमानाभित्र नागरिकता भई
अनागरिक भएकाहरू
ती,
निरन्तर अनन्त मुक्ति खोजिरहेकाहरू!!
निःस्वार्थ कोइलीका फूल‌‌ कोरली रहेका कागहरूझैँ
 देश कोरलिरहेका सिमान्तकृतहरू
 इतिहासको हिसाब मागिरहेका
हजारौँ वर्षदेखि शोषित र दमित
दलित‌ आवाजहरू
सत्ताले नदेखेका
कर्णालीहरू
परिवर्तनका खातिर
रगतका होली खेलेका शहीदहरू
अन्यायका विरुद्ध ‌लडेका
घाइते ‌योद्धाहरू
शासकले‌ गुमनाम बनाएका
 अज्ञात बेपत्ताहरू
क्रान्तिकारीहरू
ती,
निरन्तर अनन्त मुक्ति खोजिरहेकाहरू!
गलामा फलामे साङली र घण्टी भिराइएका कुकुरझैँ
दासताको साङ्लोमा बाँधिइएकाहरू
बाच्छाको पेट कटाएर निरन्तर मुलीलाई
दूध चडाउने साधु गाइहरूजस्तै साना उद्यमीहरू
निरन्तर जमिनदारको बाँजो चिर्ने गोरुहरूझैँ
बालीमा श्रम गरिरहेका हलीहरू
हिउँका चिप्ला बाटाहरूमा
खच्चड र जोक्पेसँगै भारी बोकिरहेका भरियाहरू
समयमा एम्बुलेन्स नपाएर मृत्युवरण गरिरहेका सुत्केरीहरू
मिर्गौला ट्रान्सप्लान्ट ‌गर्न नपाएर छट्पट्टाइरहेका बिरामीहरू
ती,
निरन्तर अनन्त मुक्ति खोजिरहेकाहरू!!
जसलाई आज यो‌ देश गन्हाइरहेको छ।
सुन ए…
हनुमान्हरू हो
तिमीहरूलाई तिमीहरूको शासकको
मूत कहिले गन्हाउँछ?
सुन ए…
भक्तहरू हो
तिमीहरूलाई तिमीहरूको भगवान्को‌
स्वास कहिले गन्हाउँछ?
सुन ए…
दलालहरू हो
तिमीहरूलाई तिमीहरूको प्रत्येक ‌गाँसमा
हाम्रो पसिना र रगत कहिले गन्हाउँछ?
 सुन ए…
पाखण्डीहरुूहो
तिमीहरूलाई तिमीहरूको बा’को
यो देश‌ कहिले गन्हाउँछ?