तन्त्र साधनापछि, मसानमा अनायास देखिने
उच्चाटलाग्दो समय
निषेधाज्ञाले जनताको मुख टाल्दै
सरकार भन्दैछ – मास्क लगाऊ
नत्र, जरिवाना तिर
स्यानिटाइजरको प्रयोग गर
नगरे जरिवाना तिर
सामाजिक दूरी कायम राख,
नराखे नजरबन्दीमा बस
कति उच्चाटलाग्दो आह्वान !
आफैँले बनाएको नि:स्तब्ध वातावरणमा,
मानिस ओइलाउन थालेको छ
अनुहारमा मास्क लगाएर
स्यानिटाइजरले हात भिजाएका
एक हुल मानिस
एक हुल मुर्दाको पछि-पछि छन्
हातमा बलेका मैनबत्ती सम्हालेर ।
सहरमा मानिस नभएका होइनन्
तर भिडभन्दा बाक्लो छ सन्नाटा
बजार र बस्तीहरूमा
गति छैनन् श्वास–प्रश्वासका
कतै रूखको एउटा पात पनि त हल्लिएको छैन
यो अजिबको सन्नाटामा
मेरी मायालु, तिमीलाई जस्तै
मलाई पनि भाउन्न भएको छ
मलाइ थाहा छ मायालु
विदीर्ण भएकोछ, तिम्रो मुटु
भिजाउन आँसु पनि त छैन हाम्रो आँखामा
यो सन्नाटामा
चरा र चरी भएर
निर्बन्ध उड्ने
सुविधा पनि त छैन मानिसलाई
हिजो जहाँ चट्टान थियो
चिहान छन् आज त्यहाँ
समदूरीमा सकिएका छन्
मानिसका सम्बन्धहरू ।
आज फेरि कैयौँ दर्जन मान्छे मरेका छन्
कि ती मारिएका हुन् अक्सिजन नभएर ?
कि ती मारिएका हुन् भेन्टिलेटर नभएर ?
छेउको अस्पतालमा
हिजो पनि त पाँच जना मरेछन्
तिनको त समाचार बनेन
ओहो, कति उच्चाटलाग्दो समय
जीवन भएर पनि निर्जीवजस्तो
मुटु चलेर पनि मुर्दाजस्तो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।