उः पर
सडकछेउ कुनामा
लत्रक्क परी बसिरहेको
त्यस टालोलाई हेर न,
कसले, कहिले र किन
फ्याँकेको होला
त्यसलाई त्यहाँ ?
साँच्चै के होला त्यो ?
कहाँबाट आयो ?
किन बसिरहेको छ त्यहाँ एक्लै ?
किन बाँचिरहेको छ ?
बेवारिसे जिन्दगी ।
फिक्का रातो रङ्गको त्यस टालो
कुनै प्रेमीलाई उसकी प्रेमिकाले दिएको उपहार थियो,
या उनै प्रेमीको रगत पोतिएको अन्तिम चिनो ?
कुनै धनाढ्य साहुकी छोरीको भित्री वस्त्र,
या कुनै गरिबकी आमाको
महिनावारी टालो ?
अघि-पछि गुडिरहेका गाडी
अनि दायाँबायाँ कुदिरहेका मानिसहरूबाट
कुचिएर, थुकिएर, लत्त्याइएर, बतास्सिएर,
कुचुक्क परी सडकछेउ सुस्ताइरहेको त्यसको
के थियो होला वास्तविक चिनारी ?
कुनै नेताको घाँटीमा झुन्ड्याइएको खादा
या खाडीबाट फर्किएको बाकसमाथिको पाल
कुनै माननीयको जुत्ता पुछ्ने झुम्रो
या कुनै दयनीयको लाज बचाउने मजेत्रो,
कुनै भिक्षुको कसया
वा कुनै शिशुको थाङ्ना,
कुनै अस्पतालको प्रसव कक्षभित्रको काप
या त्यही अस्पतालबाहिरको शवमाथिको कात्रो ?
कुचुक्क परी बसेको त्यसले
के बोकेको होला आफूभित्र ?
कुनै गाडीका झ्यालका सिसाहरूमा टाँसिएका धुलो
या कुनै होटलका टेबलहरूमा पोखिएका सितन,
वा दिनभर भट्टीमा भोको पेट इँटा बोक्दै गरेका कान्छा दाइको
मुखबाट निक्लेको तातो रगत
या त्यही भट्टीका साहुजीले दिनभरको भतेरले
ओकलेको एक पाथी बान्ता,
के होला त्यसभित्र,
के थियो त्यसको भोगाइ ?
के, किन, कसरी ?
प्रश्नहरूको उत्तर कतैबाट नआएपछि
त्यहाँबाट निस्कनै के लागेको थिएँ,
एक्कासी बिजुली चम्कियो,
चट्याङ्ग गर्जियो,
एक तमासले झरी बर्सियो
र पलपश्चताप मनका काला बादलहरू सबै हटेपछि
मैले आफ्ना नजर
पुनः त्यहाँ दौडाएँ ,
जलमग्न सडकको त्यस कुनामा मैले
पानीमा छचल्किरहेको रातो देखेँ,
अनि नीलो ,
अनि सेतो देखेँ,
मेरो प्रिय चन्द्र सूर्य अङ्कित झण्डा
सडकमाथि उत्तानो परी तैरिरहेको देखेँ,
त्यस दिन मैले
मेरै सामु
मेरो देश सडकमा मरिरहेको देखेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।