युवाराज भण्डारी (न्युजिल्याण्ड)

मेरो माया तिम्रा लागि मुटु भरि भरि

तर पनि शङ्का गर्छ्यौ किन घरि घरि ?

 

म कहिले हाँसेँ भने किन बूढो हाँसो ?

नबोलेर बसेँ भने अन्तै माया गाँसो ।

मैले धेरै खाएँ भने कसकाे गाँस खायौ ?

कहिले भोक थोरै लागे काँ घिचेरा आयौ ?

 

मेरो माया तिम्रा लागि मुटु भरि भरि

तर पनि शङ्का गर्छ्यौ किन घरि घर।।

 

लुकी लुकी आँखा गाँसी हाँस्ने गर्थ्यौ पहिले,

लुकेर पो फोन मेरो जाँच्ने गर्छ्यौ  अहिले,

कामकाज व्यवहार  धेरैथरि रन्का,

घर पुग्दा ढिलो भए अझ बढ्छ शङ्का ।।

 

मेरो माया तिम्रा लागि मुटु भरि भरि

तर पनि शङ्का गर्छ्यौ किन  घरि घरि ।।

 

जुल्फी कोर्दा भन्छ्यौ छाँट थोरै पार्ने गर,

थोरै दार्ही बढ्यो भने के तपस्या छ र ?

पहिले पहिले गर्ने  गर्थ्यौ  मीठा  मीठा कुरा

अहिले हान्छ्यौ शब्दरूपी तीखा तीखा छुरा ।।

 

मेरो माया तिम्रा लागि मुटु भरि भरि

तर पनि शङ्का गर्छ्यौ किन  घरि घरि।।