हिड्ने हिम्मत छैन बाहिर कतै सन्त्रास सन्त्रास छ ।
आफ्नै यो घर जेलझैँ दिनदिनै लाग्दैछ अत्यास छ ।
आकाङ्क्षा अनि भावना र सपना बन्दै गए बन्धकी ।
आफ्ना दूर हुँदा र दर्द थपिँदा के जिन्दगी जिन्दगी ।।१।।
***

कोरोना अफवाह हो कि भुमरी आँधी चल्यो बेसरी ।
हावाको गतिमा उदण्ड अति भो रोक्नै नसक्ने गरी ।
चारैतर्फ जताततै कहरको चीत्कार झन् बढ्छ कि ।
लाखौं ग्रस्त हजार लास दिनकै थप्दै रह्यो जिन्दगी ।।२।।
***

कैयौं छन् परदेशका शहरमा बेचैन छन् आखिर ।
कोही फर्कन खोज्दछन् मुलुकमा सम्झेर आफ्नै घर ।
बाँच्नेको पनि छैन त्यो भर कुनै सङ्घर्ष छन् जिन्दगी ।
मर्नेको पहिचान लुक्छ अहिले बेहाल छन् जिन्दगी ।।३।।
***

भन्छन् यो अति सुक्ष्म भाइरस रे निर्जीव प्राणी तर ।
हाम्रो अङ्ग शरीर भित्र रहँदा फक्रन्छ ती अङ्कुर ।
कुर्दै छौं भयबाट मुक्त कसरी होला त यो जिन्दगी ।
झर्ने आँसु सबै झरे नयनका पीडा बढ्यो जिन्दगी ।।४।।
***

मान्छे आज अकालको नियतिको कीटाणुको मारमा ।
छैनन् टन्न अनाज भोक गरिबी बढ्दै छ संसारमा ।
हे विज्ञान बताइदे न अब लौ अर्को व्यवस्था छ कि?
मान्छे सक्षम पूर्ण छन् तर स्वयं सन्तापमा जिन्दगी ।।५।।
***
छन्द : शार्दूलविक्रीडित
मध्यपूर्व संयोजक : साहित्य पोष्ट