बोक्रालाई नै रूख ठान्नेहरू
दाउरे दाइको बन्चरोको
आवाजमा भरिएका
जीवनका अभिशप्त मर्म र लय
नबुझ्नेहरू
धम्कीवादमा तिखारिएका
गरिबमारा यातनाका दाह्रे छुराहरू
पस्दै छन्–
गाउँबस्तीहरूमा
बकम्फुसे चमत्कार फलाक्दै
क्रान्ति नामका
थुप्रै धोकापूर्ण विरोधाभासहरू,
र पस्दै छन् रहस्यमयी बनेर
ढँटुवारे कति आतङ्कराजहरू !

मुस्किलले शान्ति फुलेका गह्रा,
गोरेटा र कटेबाटामा
स्वतन्त्र हिँड्ने
श्रमिक पाइलाहरूकै तेजोवध गर्ने
स्वार्थी दुर्नियतधारी
भाटे धमिराका ध्वंस–जालहरू !
००

पसे एकदिन घुम्दाघुम्दै
गाउँनजिकैको जङ्गलभित्र
खोसे दाउरे दाइको हातको बन्चरो
र,
खल्तीबाट धम्कीवादको
धारिलो छुरी निकालेर
सय वर्ष खडा सालको बूढो रूखका
बोक्राहरू घुरेल्दै भने–
‘भर्खरै ढलाउन सक्छौँ जाबो रूख !
तँ पाखे दाउरेलाई के थाहा
ग्याङको तागतको केन्द्र !
बोलिस् भने रूख त के,
यहीँ ढल्नसक्छ शरीर पनि
रोप्न आएका हौँ–
शासनका नयाँ विद्रोही जरा !’
००

खोसिएको बन्चरो
पर भुइँमा अलपत्र छ
दाउरे दाइको हातको
पसिनाको तातो स्पर्श नपाएर
चिसिएको बन्चराको बिँडले
पढ्दै छ अघिदेखि
उसको भयभीत चेहरा
र, निधारमा रेखिएका छटपटीका
अस्पष्ट अक्षरहरू !
लाग्छ–
यदि बन्चरो आफैँ उठ्न सक्दो हो त
हिजोजस्तो काटिने थिएनन्
छानी–छानी सुका हाँगा दाउराहरू
बरु काटिने थिए,
गरिबको हातबाट बन्चरो खोस्नेहरूका
एक एक आला टाउकाहरू !
बल्ल सुरु हुने थियो
कार्यकारी बन्चरोबाटै
दाउरे दाइले अझ पनि बुझ्न नसकेको
जीवन–प्रेमको सक्कली
अन्तिम भरोसा–क्रान्ति ।
तर,
के उठोस् निर्जीव बन्चरो !
दाउरे दाइ ?
सजीव तर निमुखो !
००

सुका हाँगाबिँगा छिचोलिसकेपछि
उचालेर एक बिटो दाउरा
सन्तुष्टिको भारी सास फेर्दै
खुशीको त्यही भारीमाथि
भरोसा नामको
उही बन्चरो सिउँरेर
घर फर्किजाने
दाउरे दाइका नित्यकर्मी पाइलाहरू
साँझपख भान्सामा
चुल्हो सल्काउने मनको सदाबहार धोको
तर आज !
तेल सकिएपछि निभेको दीयोझैँ,
गुड्दागुड्दै राजमार्गमा
बिग्रिएको गाडीको चालकको अनुहारझैँ
चिन्ताभन्दा ज्यादा डरले कायल
एक निरुपाय निहत्था शिथिल काय
बीच जङ्गलमा
गुन्डाराजको अर्थहीन कब्जामा छ;
दाउरे दाइको
जीवनकालीन अनुभवको एकमात्र बन्चरो
खै, किन अनाहकमा खोसिएको छ ?
००

बस्तीबस्तीमा वस्तुको शिल्पगत
जीवनसापेक्ष उपयोगिता
दाउरे दाइको बन्चरोजस्तै
कसै न कसैको कब्जामा छ !
थाहा छ–
बन्चरोको काट्टकुट्ट आवाज
दाउरे दाइको जीवनगीत र,
एकमात्र दिग्विजयी आवाज पनि हो !
मान्छेहरू !
जीवनको बाटो यदि हिँड्नु नै छ भने
सबैभन्दा पहिले
दाउरे दाइलाई
यो दुःसाध्य समयमा
खोसिएको बन्चरोको आवाज देऊ !
आखिर बन्चरोको आवाज नै त
दाउरे दाइले बाँचेको युगको
निर्विघ्न आवाज हो !