पाठशालाको पछिल्लो झ्यालबाट मलाई चिहाउने ती आँखाहरू

अचेल कस्ता सपना सकेर अस्ताउँदै होलान्

मेरो छेउबाट सर्माउँदै पास हुने ती पैतालाहरू

अचेल कसका साहारा बनेर सुस्ताउँदै होलान् ।

 

मेरा झोलाहरू अन्तिम बिसौनीमा घबराउँदा

तिम्रा सुस्केराहरू तगारो पारी धरमराउँदा

मेरो आँसु पनि मैले फस्नलभित्र ओभाएको थिए

बेलुकीले आकाश भर्दै गर्दा

सम्झनाहरूले राप्ती तर्दै गर्दा

तिम्रो रुमाल मैले छातीभित्र जोगाएको थिए ।

 

मेरो निर्दोष गाउँले प्रेम तिमी

मायाको पुरानो अर्थ आकृति तिमी

तिम्रो स्मृति स्वप्नमा

मेरा कति झझल्कोहरू अटेका छन् ?

 

अहिले वर्षौं बितिसकेछन्

मेरा डेगहरू फर्कने गोरेटो भुलेछन्

त्यही गोरेटोमा तिमी कति बसन्तहरू फेर्यौ ?

यो निष्ठुरीको पर्खाईमा तिमीले

त्यो पुरानो बिसौनीमा कति हिँउदहरू कुर्यौ ?

असारे बिलौनाले मेरो चिठी भिज्दा

राप्तीले धमिला आशा बगाई लग्दा

स्याङ्गोमुनि रुझेर कति बर्खाहरू हेर्यौ ?

 

मेरो शैशवकालको नासो तिमी

पुरानो मायाको ख़त प्रतिबिम्ब तिमी

तिम्रो ज़िन्दगीको कवितामा

मेरा यादले कस्तो नो बोकेका छन् ?