मेरो कोठेबारीमा एउटा बुख्याँचा छ
तपाईं मकहाँ आउनुभएको भए
सायद देख्नुभएको छ

रूद्र बराल

बटुवा सबैले देख्ने ठाउँमा उभिएको यो बुख्याँचा
मेरो बारीको पहरेदार हो
विश्वासको प्रतीक हो यो बुख्याँचा

यसलाई म मेरै परिवारको सदस्य ठान्दछु
यसैले यसलाई मैले जतनले राखेको छु

गजबको छ मेरो बुख्याँचा

मेरा हजुरबाको दौरा
मेरी हजुरआमाको चश्माको फ्रेम
र मेरो आफ्नै छ्त्रे टोपीले उसलाई सिँगारेको छु मैले

मेरी श्रीमतीले उसलाई एउटा “सनलाइट”को छाता ओढाइदिएकी छन्

मैले उसका छातीमा ठुला-ठुला अक्षरले
“नजरबन्द” लेखिदिएको छु
यसले मेरो पहरा मात्र होइन मानसिकताको पनि प्रतिनिधित्व गर्दछ

मलाई लाग्छ –
मेरै बुख्याँचा देखेर
मेरै बुख्याँचाको अनुकरणमा
हिजोआजका आधुनिकाहरूले
आफ्नो “टि-सर्ट”को छातीमा
“आई लभ यू” लेखेका हुन्
मेरो आशा र भरोसाका नयाँ पिँढीले
मेरै बुख्याँचा देखेर
कुम-कुममा फाटेका
अथव भनौँ तिघ्रैसम्म च्यात्तिएका
पहिरन भिरेका हुन्
(तपाईं मान्ने वा नमान्ने यो मेरो विश्वास हो र मेरो विश्वासमा औँला ठड्याउने अधिकार तपाईँको छैन)

उसको विश्वास हो कि आत्मभिमान नै हो
दस नङ्ग्राले इतिहास कोट्याएर
मेरो छोरो घरी-घरी घोषणा गर्छ –
“बुबा! हाम्रा पुर्खाको बुख्याँचा देखेर
आधुनिक रोबोट बनिएको हो?”

म मुसुक्क हाँसिदिन्छु
ऊ फुरुक्क पर्छ

मेरो रोबोट अचल, अपरिवर्तित छ युगौँयुग
मेरो छोरो आफ्नै विश्वासमा अडिग छ युगौंयुग

मेरो बुख्याँचालाई म हदै माया गर्छु
जसले मेरो मकैबारी, तोरीबारी
धानखेत, कोदोबारी रुँगिदिन्छ

नुनको सोझो छ मेरो पाले
न ऊ ज्याला मागेर हडताल गर्छ
न घरी-घरी बिदाको निवेदन टक्य्राउँछ
न चोर्छ
न घर फोर्छ
यसैको भरोसामा म ढुक्कले बाहिर घुम्न सक्छु

म एकछिन कल्पनाको उडान उड्छु
ज्यालाहीन पृथ्वीको कल्पना गर्छु
ज्यालाहीन खेतालाको कल्पना गर्छु
मेरा खेत, बारी र उद्योगहरूमा

मेरो बुख्याँचा मेरानिम्ति ईश्वर हो
मैले आफैँ बनाएको उसको शरीरमा
मैले अदम्य शक्तिको भण्डार देखेको छु

बिडम्बना कस्तो !

हिजोआज
यो बुख्याँचादेखि
मेरा घरका अन्य सदस्यहरू –
सेती गाई, घोर्ले खसी, तारे गोरु
कोही तर्सिदैनन्, हर्किदैनन्
जसरी हिजोआज डराउँदैनन् धर्मगुरुहरू
पापको डरले

हिजोआज
मेरो बुख्याँचाको अस्तित्वप्रति
उसको क्षमताप्रति
युगानुकूल खाँचोप्रति
मेरो परिवारको शङ्का बढ्दै छ

हो, छन्
यसका पनि कारण छ्न् –
हिजो मेरो भोकाएको तारे गोरुले
मेरो बुख्याँचाको फाटेको दौराभित्र
परालको अस्तित्व थाहा पाएर
हिरिक्क गर्‍यो उसको पेटको आगो निभाउन

यसैले,
मेरी श्रीमती यसका लुगा फेरिदिन
सधैँ कचकच गर्छिन्
यसलाई युगानुकूल रूपले सजाउन
सधैँ ढिपी गर्छिन्

अकाट्य जुक्ति छ उनको –
“देख्नुहुन्न, अघाइसकेपछि नेताहरू
कसरी फेर्छन् आफ्ना पोसाक
कसरी झुक्याउँछ्न् जनतालाई फेरि
अर्कै रूप लिएर
अर्कै वचन फलाकेर?

तपाईं बेकारको मान्छे
तपाईं आस्था र विश्वासमा पिँजडाबद्ध फगत एक शरीर
तपाईं आफैँ पनि एक सिङ्गो बुख्याँचा
आकृति भएको
मुटु नभएको बुख्याँचा

बुख्याचाले न जिन्दाबाद भन्छ
न मुर्दाबाद।”

 

बडसोला, असम