ओ सेन !
ओ क्रान्ति आस्थाको मन्दिर !
मर्मत गर्ने बहानामा
तिम्रो गजुर चोरियो,
सत्तल गायब पारियो,
जगकै ढुंगा हरायो,
खोज्दै जाँदा :
त्यसबाट त लालदरबार ठड्याइएछ

तिम्रै सपना लिलाम गरेर
संसदीय खुँडो खरिदिएका छन्,
जसले, पतनको अचानोमा
खसी देखाउँदै कुकुरको टाउको होइन
हाम्रै आस्थालाई रेट्ने गर्छ,
बगरे अरू कोही होइनन्
आस्थाको मन्दिरभित्र स्व-नियुक्ति लिएका
क्रान्तिका उनै मठाधीशहरू हुन्

विजय देवकोटा

विजय देवकोटा

आजकाल त कमरेड :
जहाँतहीँका सपनामा ऐँठन पर्छ
खाडीको बालुवामाथि बेहोस योद्धा
रेडबुक बर्बराउँछ
ओमानमा घरेलु मजदुर
तन्द्रामै रोजा बनेर दुगुर्छिन्,
मलेसियामा खुट्टो गुमाएका क. लालबहादुर
‘अफेन्स र डिफेन्स’ भट्याउँछन्
आधादर्जन लालदरबारतिर चाहिँ
संशोधन, संसद, सहवास, चुनाव, कमिशन… सुनिन्छ ।

प्रिय सेन !
आस्थाको घडेरी मासेर
आधादर्जन पागलखाना खोलिएको छ
जहाँ क्रान्तिका सपना देख्नेहरूलाई थुनिन्छ
क्रान्तिकै रिहर्सल देखाउँदै,
पतनको भर्‍याङ झारेर बेइमानहरूले
रसातल पुर्‍याउँछन्।

इतिहासको यो घडीमा :
यो अदृश्य बन्दीगृहभित्र
हामी आस्थाका बन्दी भएको छौँ सेन !
फुटेको झ्यालबाट
सादृश्य चन्द्रागिरी देखिन्छ :
त्यो अटल पहाड हेर्दा
तिमीलाई सम्झन्छौँ !