उठ्दा छ्याङ्ङ हुँदैन देह मनझैँ भारी भएको खपी

नौ नाडी अति गल्दछन् डर पसी हे राम भन्दै जपी

बस्दा शान्ति हुँदै भएन मनमा आँखा भएका गडी

रोगीको भिडबाट बच्नु कसरी सन्तोषले यो घडी ।।

 

देख्दा स्वस्थ छ देह यो तर अहो बढ्दैछ पारो चढी

नाप्ने यन्त्र बताउँदैछ सयमा उक्लेर केही बढी

लाग्दा भन्न कतै नजा तँ घरमा बस् स्वस्थ खाई जडी

कोरोनासित बच्नुपर्छ जन हो सन्तोषले यो घडी ।।

रामचन्द्र घिमिरे

 

लाग्यो चोट नयाँ शरीरभरिको ऊर्जा छुटेझैँ भयो

सीटामोल भए मकै सरह नै टोके हुने ठिक्क भो ।

चक्की जिङ्कसँगै भिटामिन लिई सल्लाह राम्रा पढी

झट्टै रक्षण गर्नु पर्छ तनको सन्तोषले यो घडी ।।

 

कोरोना अब जा न आ नजिकमा घाती तँ होस् मारक

म्लेच्छा होस् तँ अधर्ममा पुट दिने सन्त्रासको कारक ।

गोटी होस् षडयन्त्रको अगतिलो भन्छन् सबैले बढी

खाईस् योग्यहरू भयो अब पुग्यो सन्तोषले यो घडी ।।

 

मान्छे मर्छ नचाहिँदो स्थिति खपी सुस्वास्थ्य बाधा हुँदा

कल्कीको अवतार हुन्छ युग हो विज्ञान छाडा हुँदा

मान्छेमा अति घात भो जहरले उत्पात जाग्यो चढी

धेरै दुःख भयो भयो अब पुग्यो सन्तोष दे यो घडी।।