ती घडीका सुईहरूलाई नि खुब जाडो भएछ
खप्टिएर बसेका छन् मध्यरातमा
बाहिर झ्याउँकीरी अझै कराउँदै छन्
सायद कोही आफन्तले छोडिगएको होला
मुखिया बाको घरको टुकी पनि निभिसकेछ ।
यहाँ सब सुनसान छ
म, कहिल्यै नआउने गरी हिँडेकी तिमी
र, कहिले नजाने गरी बसेका तिम्रा याद !
तिमीले देख्दा तीन लेख्न नजान्ने छोरा
अचेल तीन कक्षामा पढ्छ
अनि, तिमीले देख्दै नदेखेकी छोरी
अचेल खेल्ने भाकी छ ।
साँझपख जब रातो सूर्य देख्छु
तिमीले निधारमा लाउने ठूलो रातो टीका याद आउँछ
राति जब सेतो चन्द्रमा देख्छु
तिम्रो मुहार याद आउँछ ।
छोराले जहिल्यै सोध्ने प्रश्न
आमा खै ?
मैले दिने एउटै जवाफ, ‘मामाघर’ ।
आज छोराले बिस्तारै भन्यो-
आमा लिन मामाघर जाऊँ न ।
अब म कसरी भनौँ उसलाई
यमराजको उपनाम मैले मामा राखेको हुँ
यमलोकको उपनाम मामाघर राखेको हुँ
त्यहाँ जाने ढोका मात्रै छ
आउने ढोका छैन ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला