कवि उत्पल बैनर्जीको परिचय
कवि उत्पल बैनर्जीको जन्म २५ सेप्टेम्बर, १९६७ मा मध्यप्रदेशको भोपालमा भएको हो । हिन्दी साहित्य में स्नातकोत्तर उपाधि प्राप्त बैनर्जी मूलतः कवि र अनुवादक हुन् । उनको ‘लोहा बहुत उदास है’ शीर्षकको पहिलो कविता-सङ्ग्रह वर्ष २००० मा सार्थक प्रकाशन, नई दिल्लीबाट प्रकाशित छ । उनले बर्सौँदेखि बङ्गालीका महत्त्वपूर्ण साहित्यिक कृतिहरूलाई हिन्दीमा अनुवाद गर्ने कार्यमा संलग्न छन् । वर्ष २००४ मा संवाद प्रकाशन मुंबई-मेरठबाट अनूदित पुस्तक ‘समकालीन बंगला प्रेम कहानियाँ’, वर्ष २००५ मा यहीँबाट ‘दंतकथा के राजा रानी’ (सुनील गंगोपाध्यायका प्रतिनिधि कथाहरू), ‘मैंने अभी-अभी सपनों के बीज बोए थे’ (स्व. सुकान्त भट्टाचार्यका श्रेष्ठ कविताहरू) तथा ‘सुकान्त कथा’ (महान् कवि सुकान्त भट्टाचार्यको जीवनी) उनका अनुवादका पुस्तकाकार प्रकाशित कृतिहरू हुन् ।
त्यस्तै उनका वर्ष २००७ मा भारतीय ज्ञानपीठ नई दिल्लीबाट ‘झूमरा बीबी का मेला’ (रमापद चौधुरीका प्रतिनिधि कहानिहरूको हिन्दी अनुवाद) तथा द्रोणाचार्यको जीवनचरित्रमा आधारित पुस्तक ‘द्रोणाचार्य’ का रे-माधव पब्लिकेसन, गाजियाबादबाट प्रकाशन भएका छन् । उनका अनुवादका अन्य विभिन्न पुस्तकहरू प्रकाशोन्मुख छन् ।
देशका लगभग सबै महत्त्वपूर्ण पत्रिकाहरू तथा समाचार-पत्रहरूमा उनका कविता तथा अनुवादहरू प्रकाशन भएका छन् । उनले मन्नू भण्डारीको कहानीमा आधारित टेलीफिल्म ‘दो कलाकार’ मा अभिनय पनि गरेका छन् । सङ्गीतमा गहिरो रुचि भएका बैनर्जीले विभिन्नडकुमेन्ट्रीहरूको निर्माणसमेत गरेका छन् । अत्यन्त गहिरो मानवीय संवेदनालाई पक्रेर कविता लेख्ने उनका कवितामा कला र विचारको सुन्दर सन्तुलन पाइन्छ । हाल यनी डेली कालेज, इन्दौर, मध्यप्रदेशमा हिन्दी अध्यापन गर्छन् । भाषान्तर कविताको यस शृङ्खलामा उनै कवि उत्पल बैनर्जीका आधा दर्जन कविताहरूको नेपाली अनुवाद प्रस्तुत गरिएको छ ।
***
१. हामीमा धेरै थोक
(हममें बहुत कुछ)
उत्पल बैनर्जी
हामीमा धेरै थोक एकै जस्तो
र फरक थियो …
वनको बाटोमा एकाएक रोकिएर
भन्न सक्थ्यौ तिमी अचानक-
यो गन्ध चुवाको फूलको हो
र यो इन्द्रकमलको,
यसो भन्दै गर्दा तिम्रो आवाजमा उत्रेर आउँथ्यो
वासन्ती आगोमा बेरिएको
मौलसिरीको मिठो मादकता,
सागरको कोखमा हुर्कँदै गरेको लेउ
अझ गहिरो उल्लासमा हल्लिरहेका
सुन्तलाहरूको सौम्य उत्ताप
तिमीलाई बाढीमा डुबेका गाउँको अन्धकारमा फुलेका
लालटिन-फूलहरूको सम्झना गराउँथेँ
जसमा चम्किरहेका हुन्थे-
कहिल्यै हार नमान्ने उत्साहका हरफहरू
मलाई सम्झना हुँदैनथे फूल र चराहरूका नाम
न त चिन्थेँ नै म तिनलाई
तर चिन्थेँ म रङहरूको बठ्याइँ
मसिनो र निर्मम आवाज सुन्थेँ म
खैँजडीको आडमा तरबारमा लागिरहेको धारको
रहस्मय मुस्कानभन्दा पछाडिबाट हुर्हर बलिरहेका
आगोका अग्ला ज्वालाहरूमा रापिन्थ्यो
मेरो चेतना
र पराजित हुँदै गरेको संवेदनाको सम्भावित शव
अगोचरमा चढिरहे झैँ देखिन्थ्यो मूक चितामा ।
तिमीलाई मन पर्थे चैते बाली र बङ्गाली लोक सङ्गीत
मलाई नजरुलका अग्नि-गीत
तिमीलाई तान्थे मधुवनीका छवि-कविताले
र मलाई सल्भाडोर डालीका विक्षोभले
रातको शरीरमा छरिएका हिमशीतल नक्षत्रका निलिमा
चम्किने गर्थे तिम्रा आँखाका निर्जनमा
जहाँ धरती लगाइरहेको हुन्थ्यो नयाँ फरिया
र म अनुमान गर्ने गर्थेँ-
कन्दराहरूमा लुकेका शत्रुहरूको पदचाप ।
हामीमा धेरै थोक एकै जस्तो
र फरक थियो …
एक थिए हाम्रा धड्कनहरू
सपनाका इन्द्रधनुषहरूको सबैभन्दा उज्यालो रङ … एक थियो ।
प्रायः एउटै जस्ता छायाहरू थिए मृत्युका
घुँडा र काँधहरूमा गाडिएका गोलीका चिह्नहरू एकै जस्ता थिए
एकै जस्ता आँसु, एकै जस्तो निरन्तरता थियो
भोक र प्यासको,
जुन मुद्दाहरूमा हामीले रोजेका थियौँ जीवन
तिनीहरूमा आज पनि थिएन कुनै मतभिन्नता ।
***
निर्वासन
उत्पल बैनर्जी
आफ्नै आगोमा झोसिन्छ कविता
आफ्नै आँसुहरूमा डुब्छन् शब्दहरू ।
जो साथीहरूले
सँगै बाँच्ने मर्ने वाचा गरेका थिए
एक दिन बेपत्ता हुन्छन् तिनीहरू नै
र फर्किँदैनन् फेरि कहिल्यै,
बिस्तारै बिस्तारै धुस्रा र अपाठ्य हुन जान्छन्
उनीहरूका नकुँदिएका कविता र दुखहरू,
ठिक ठिक अनुहारसम्म सम्झना हुँदैन तिनको ।
बढ्दै नै जान्छ अँध्यारो
कालो पोतिँदै जान्छ उज्यालोका मानकमा,
जगमगाउँदो पृथ्वीको ठिक पछाडि
भोकको कालो छाया फड्फडाउँछ आफ्नो पखेटा
जीवनभरि उत्साहका कुरा गर्नेहरू
एक दिन आकण्ठ डुबेका भेटिन्छन् सम्झौताहरूका भासमा
पुरानो प्लास्टर झरे झैँ एकाएक भत्किन्छ भरोसा
बाठा कविहरू एकान्तमा उचाल्छन् मुट्ठीहरू ।
प्रतीक्षाको अवसादमा डुबेको कुनै प्राचीन राग
एक दिन चुपचाप बिलाएर जान्छ विस्मृतिको खाडलमा,
उपेक्षित रक्तमुच्छेल शब्दहरू
शब्दकोशका बन्द कोठाहरूमा लिन्छन् समाधि
शताब्दीयौँ पुरानो सभ्यतालाई आफ्नो अँगालोमा लिएर
मरेर जान्छ बाँध
जीवन र आगोका उज्याला बिम्बहरू आफैँमा निष्प्राण हुन्छन् ।
बिस्तारै बिस्तारै मेटिँदै जान्छन् मङ्गल ध्वनिहरू
पवित्रताको आडैबाट उठ्छ जलेका शरीरहरूको गन्ध
अपवित्र इच्छाहरू शिरमा चढेर बस्छन्
मिठो विष जसरी फैलिँदै जान्छ बजार
र कलालाई पङ्क्तिबाट बाहिर निकालिदिन्छ,
गल्लीहरू बदलिँदै जान्छन् दलालीको बाटोमा
सपनामा सिक्काहरूको ध्वनि गुन्जिन्छ,
आफ्नै घरमा आफ्नो निर्वासन देख्छन् किसान-आँखाहरू
कतै दर्ता हुँदैन तिनको आत्महत्या ।
एक्लोपन समयको परिचय बन्दै जान्छ
तिरस्कृत किंवदन्तीहरू गुहार मागिरहन्छन् राजपथहरूमा
वञ्चनाले धकेलिदिँदा खुल्दै जान्छन् उन्नतिका बाटाहरू
राति राति खिन्न मनमा बर्बराउँछन् कविताहरू
निःसङ्ग रात कोल्टे फेरर सुत्छ !!
***
घर बेचेर फर्कनुभएका बा
(मकान बेचकर लौटे पिता)
उत्पल बैनर्जी
आफ्नो घर बेचेर फर्कनुभएका बा
धेरै दिनसम्म विरक्त रहनुभयो
निकै विरक्त …
आमाको अवसानपछि
त्यो घर फेरि ‘घर’ रहेन
मात्र एउटा ताल्चामा बन्दी बनेर रहिरह्यो-
त्यसको सारा उल्लास
भित्ताहरूमा उदासीको लेउ लागिसकेको थियो
त्यसका काला दागहरू पुराना घाउ जस्तै देखिन्थे
जसलाई सफा गर्ने प्रयास गर्दा
आलो घाउका पाप्रा जसरी उप्किन्थ्यो प्लास्टर
घना अवसादको अँध्यारो थियो
जहाँ झ्याउँकिरीको गीत विलाप जस्तो लाग्थो
यस्तो घर बेचेर आउनुभयो बा
धरै दिनसम्म घर जसरी नै चुपचाप रहनुभयो ।
यहाँ अनजान सहरमा
कहिलेकाहीँ जब कोही उहाँसँग सोध्थ्यो हालखबर
तब भन्नुहुन्थ्यो झस्किएर- के गर्नु बाध्यता थियो
त्यसैले बेच्नु पर्यो !!
सङ्कटमा त्यसै घरले शरण दिएको थियो,
लामो सास फेरेर प्रायः भन्नुहुन्थ्यो-
सबै थोक छन् यहाँ- छोरा, बुहारी, प्यारी नातिनी…
तर के गर्नु धेरै सम्झना आउँछ घरको
लाग्छ- धुरीखाँबोमुनि आफैँ गाडिएका छौँ
आफ्नै काँधमा बोकेका छौँ छानो
ध्यानपूर्वक हेर्दा आज पनि
सिँढीमा बसेकी पत्नीको मौन अनुहार देखिन्छ
बर्सौँ पहिले सङ्गीत सिकिरहेका छोराछोरीको
मसिनो हर्षित बालध्वनि सुनिन्छ
र बुधबारे हाटको पेट्रोमेक्सको उज्यालो
मनको अन्धकारमा झल्मलाउँछ
आज पनि चिन्छन् मानिसहरू भिडमा !
आफ्नो व्याकुलता हटाउन बा
टिभी चलाउनुहुन्थ्यो
उहाँले टिभी हेर्नु एउटा रिवाज जस्तो हुन्थ्यो
सोध्दा प्रायः भन्न सक्नुहुन्नथ्यो
कार्यक्रमका नाम, तिनको विषयवस्तु
र टिभी बन्द गर्न बिर्सेर प्रायः
पढ्न थाल्नुहुन्थ्यो कुनै किताब
यो कुनै धोका थियो… छल थियो आफैँ विरुद्ध
निर्जन मध्याह्नमा उहाँ गाउनुहुन्थ्यो कुनै राग
त्यसको मिठासमा निकै गहिरो रोदन घुलेको हुन्थ्यो
थकित आँखाहरूमा उम्रन्थ्यो वियोगको झिनो प्रतिबिम्ब
र पुराना दिनका स्मृतिहरू काँप्थे आवाजमा ।
प्रायः रातमा उहाँ
कथा सुनाउनुहुन्थ्यो आफ्नी नातिनीलाई
र ऊ निदाइसकेपछि पनि
थाहा छैन कुन स्मृतिहरूमा हराएर
आँखा चिम्लेर धेरै बेरसम्म सुनाइरहनुहुन्थ्यो कथा… !!
***
जिउँने छौँ यसरी
(जिएँगे इस तरह)
उत्पल बैनर्जी
हामीले यस्तै चाहेका थियौँ
बाँच्ने छौँ हामी आफ्नै किसिमले
र भन्ने छैनौँ कहिल्यै- बाध्यता थियो,
रहने छौँ हामी भँगेराका जोडी झैँ मग्न
आफ्नो सानो घरलाई
कहिल्यै मान्ने छैनौँ केवल इटा र ढुङ्गाको
त्यहाँ हुने छ हाम्रा स्पन्दनहरूको कोलाहल
दुख-सुख यसरी आउने र जाने छन्
जसरी आउँछ शिशिर, वर्षा आउँछ
चर्को गर्मीमा दन्कने छौँ हामी वनमा लागेको डँढेलो जसरी
त कहिले बगिजाने छन् पाइलाहरू सुदूर नक्षत्रहरूको उज्यालोमा ।
हामी रहने छौँ बिउ जसरी
आफूभित्र रचनाको उत्सव लिएर
गर्मीमा रापिने छौँ… जाडोले काप्ने छौँ पुसमा
आँधी हामीलाई उडाई लैजाने छ सुदूर अनजान ठाउँहरूमा
खस्ने छौँ जहाँ त्यही माटोको मधुरिमामा उघार्ने छौँ आँखा ।
हारौँ या जितौँ- डटेर लड्ने छौँ हामी समयका थप्पडहरूसँग
उमेरको रापमा डामिने छ रूप-रङ
तर फेरिने छैन हाम्रा आँसुको स्वाद
स्नेहको रङ… उस्तै उमङ्ग हत्केलाको तातोपनमा
आँखामा चञ्चल घामको मुस्कुराहट…
मानौँ कतै कुनै अवसाद छैन
हाहाकार छैन, छैन रोदन अधुरा कामनाहरूको ।
तिमीलाई सम्झना होला
हेमन्तको एक रात प्रतिप्रदाको चन्द्रमामा
हामीले निश्चय गरेका थियौँ-
आफ्नो अन्तिम साससम्म यसरी जिउँने छौँ हामी-
मानौँ हाम्रो जीवनमा मृत्यु छँदै छैन !!
***
हामीलाई दङ्गाहरूमाथि कविता लेख्नुछ
(हमें दंगों पर कविता लिखनी है)
उत्पल बैनर्जी
जब निद्राको घना अँध्यारोमा
सुरुङ बनाउँदै थिए सपनाहरू
र नानीहरूको हाँसोले
काउकुती लगाएको थियो मनको शरीरमा
थाहा छैन हामी कुन षड्यन्त्रको आडमा बसेर
मन्त्रणा गरिरह्यौँ !
व्यञ्जनाका लुब्ध सडकमा
क्रियापदका झुन्ड र धुलोले भरिएका रूपकहरूसित जोगिँदै
जब उठिरहेका थिए दीप्त विचार
तब हामी कविताका गेस्ट हाउसमा
पानको भाँडामा भन्किरहेका झिँगाहरू धपाउँदै थियौँ
जब समय आयो राँकाहरू लिएर निस्कने
समय आयो बाटो तय गर्ने
जब भरिए धुँवा र आगोका लप्काले बाटाहरू
हामीले भन्यौँ- घर जान देऊ हामीलाई
हामीलाई दङ्गाहरूमाथि कविता लेख्नु छ !
***
कविताभन्दा बाहिर
(कविता से बाहर)
उत्पल बैनर्जी
एक दिन अचानक
जाने छौँ हामी
तिम्रा इच्छा र घृणाहरूभन्दा पनि पर
कुनै अनजान देशमा
र सायद तिमी जान्न पनि नचाहौला
हाम्रो विकलता र अनुपस्थितिका बारेमा !
हुन सक्छ
यो सुन्दर पृथ्वीलाई छोडेर
हामी जाऊँ कतै
टाढा… नक्षत्रहरूको देशमा
फेरि कुनै साँझ जब
हेर्छौ आँखा उठाएर
चम्किरहेका नक्षत्रहरूका बिच
चिन्न पनि नसकौला सायद
तिम्रो झ्यालको ठिक सामुन्ने
हामी नै छौँ !
बाँधिएर आफ्ना वरदान र अभिशापहरूले
त्यहीँ टाढाबाट हामी हेरिरहने छौँ तिमीलाई
आफ्नो वर्तमान र अतीत लिएर
आफ्नो उदास एक्लोपनमा
भाषा र कविताभन्दा बाहिर
सृष्टिको अन्तिम रातसम्म
चाहनाको आकाशमा
उदास र एक्लै… !
***
प्रतीक्षा
उत्पल बैनर्जी
म पठाउने छु
प्रार्थना जसरी शुभेच्छाहरू,
कुनै प्राचीन स्मृतिको प्राचीरबाट
बोलाउने छु उसलाई
जसका बारेमा अब हामीलाई केही थाहा छैन
आफ्नै अखण्ड पीडाबाट छानेर
केही शब्द र कविताहरू
बगाइदिने छु
वर्षामा भिजिरहेको हावामा
जसलाई अनजान देशको कुनै लक्ष्यहीन झ्यालमा बसेर
गाउने छ कुनै प्रेमी पक्षी,
म सम्हाले राख्ने छु ती क्षणहरूलाई
अन्तिम पटक जब
आफ्नो समग्र अस्तित्वले उसले छोएकी थिई मलाई
र घामको सङ्गीतमा गुनगुनाउन थालेको थियो
हाम्रो प्रेम,
पटक पटक बिर्सने प्रयासमा
अझ केही बढी नै सम्झने छु उनलाई
लुकाउँदालुकाउँदै छल्की नै जाने छन् आँसु
हरेक पटक टाढा जाँदाजाँदै फर्की आउने छु त्यहीँ
जहाँ उनी हुनुको आभास
एक्कासि भएको थियो विलीन
कुनै अधुरो सपना जसरी ।
सधैँ झैँ म
उनका लागि लिएर आउने छु
एक कप चिया र केही बिस्कुट
र प्रतीक्षा गर्ने छु ती चिठीहरूको
जो आउने छैनन् हिल्यै पनि !!
***
अनुवादः निमेष निखिल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।