•••
चित्र बनाउने
मेरो क्यानभास
अस्पतालमा बेड
र अक्सिजन नपाएका
छरपस्ट शवहरूको चाङले
किचिएको छ
मेरा कुची र रङहरू
वेथितिमा बित्न वाध्य
निरीह आत्मामा
समाहित भएका छन् ।
मध्यरातमा आएको आँधीले
मेरो कविता लेख्ने कागत
च्यातिएको छ
मेरो मसीदानी घोप्टिएको छ ।
सुनको मुकुट पहिऱ्याउँदै
मैले नै निर्माण गरेको बादसाह
यतिबेला
मृत्युको कोलाहललाई
सङ्गीत बनाएर
नृशंस नग्ननृत्यमा मस्त देखेपछि
मेरो कलमको टुँडो

आफैँले भाँचिसकेँ।

इन्दिरा प्रसाई

भो अब मलाई
मेरो कागज होइन
मसीदानी र कलम होइन
क्यानभास र रङ पनि चाहिँदैन ।
ऊ आउँदैछ
डिएसआरका साथमा
र म पर्खिरहेकी छु ।