मसँग अहिले

कि पुराना सम्झनाहरू छन्

कि बबन्डर मच्चाइरहेको मृत्युका कथाहरू छन्

कहिले देख्ने होला

मान्छेले मान्छे भेटने सडकहरू

कहिले पुछ्नेहोला

मूल ढोकामा झुन्डिएको तालाको कुरूप खिया

कहिले भेट्ने होला

चोक ,बजार र गोरेटोहरूमा ठेलमठेल गर्दै हिडेका मान्छेहरू

हिड्ने बाटाहरू

र भेटने मान्छेहरू नै नभएपछि

बेस्सरी आत्तिँदो रहेछ मान्छे

डा. दामोदर पुडासैनी किशोर

खबरहरू

कि आउँदै आउँदैनन्

कि आफन्तहरूको आर्तनाद बनेर आउँछन्

कि आफन्तकै सङ्ख्या घटेको तथ्याङ्क बोकेर आउँछन्

कि आफैँलाई टोक्न आइरहेको सन्त्रास बोकेर आउँछन्

मास्क नामको एउटा पर्दा

तुन्द्रुङ्ग झुन्डिरहेछ सधै थुतुनु अघिल्तिर

जीवनदायिनी तेलझैँ

सम्झी सम्झी मिचिँदैछ स्यानिटाइजर

हिजोसम्म हिंस्रक जन्तुसँग भाग्थ्यो मान्छे

आज मान्छे जत्तिको डरलाग्दो केही भएन मान्छेलाई

मान्छे देखेपछि

कुलेलम ठोकेर भागिरहेछ  मान्छे

क्षेमकुशल सोध्न जान मिल्दैन

जन्ति, मलामी र सल्लाह साउती स्वीकृत छैन

एक्लै खडा ,एक्लै बढा र एक्लै ढला बनिरहेछ समय

मौनतामै गाउँन परिरहेछ प्रेमगीत

भर्‍याङमुनिको थोत्रो स्कुटरजस्तो

कुरिरहेछौँ कुनै दिनलाई

पाँग्राहरूले स्पर्श गर्ने नयाँ जमिनहरू सँझेर

बस्तीहरूमा

डरलाग्दो कुहिरो र भीषण आँधी चलिरहेछ कोरोनाको

ओत लाग र आग्लो बन्द गर ढोकाहरूको

आँधी र कुहिरो निख्रिएपछि

फेरि लाग्नेछ बस्तीमा पारिलो घा

जत्ति धेरै लुक्छ मान्छे ओडारभित्र

त्यत्ति नै छिटो निस्केर

फैलाउँन थाल्छ मायाका मुजुराहरू

यो रात ढालेपछि

वीणाको झँकारभन्दा मीठो पदचाप छाम्न

कसैका सामु म उभिनेवाला छु

 

ग्वङ्गबु नयाँबसपार्क