मेरो देवपाटनमा
अझै जिउँदै छन्
तिम्री छोरी चारुमती ।

मैले लुम्बिनीबाट
बोधिवृक्षका बोट र हाँगाहरू
पठाइदिएको थिएँ ।
सट्टामा
खै नुन पठाएको ?
ओखती पठाएको
तेल पनि पठाएनौ त ?
अशोक,
तिम्रो चक्रको छायामुनि
बोधिवृक्षहरू लहलहाए होलान् ।
यहाँ तिम्री छोरीले बसालेको सहर,
तिम्रै नाति–नातिना छन् ।
मुटुको एउटा कुनामा
अतिकति माया साँचेनौ !
कति धारिला ! पाइला

दीपक सुबेदी

सिमाना राजनीतिको हुन्छ,
नाताको हुँदैन ।
नाता विश्वासमा हुन्छ,
सन्त्रासमा हुँदैन ।
क्षुद्रता व्यक्तिको हुन्छ,
देशको हुँदैन ।

सङ्कटले त उकास्छ
उनीहरू
भ्याकुर खाएर बाँच्लान्
गिठा खाएर बाँच्लान्
सातु खाएर बाँच्लान्
भ्यात्तल खाएर बाँच्लान्
स्वाभिमानी भई उठ्लान्

तिमी सिकन्दर होइनौ,
तिमी मिहिरगुल होइनौ,
तिमी मोहम्बद गजनवी होइनौ ।
सिकन्दर महान्को आक्रमण
हुणको हमला
तैबमुर र लङ्गको आतङ्क
शहाबुद्दीन र अलाउद्दीन

अङ्ग्रेजहरूको चोट
खपिसकेको
भुक्तभोगी देश हौ ।

अशोक
तिमीलाई जस्तै
मलाई मेरो देशको माया छ ।
म आफ्नो गरिबीलाई माया गर्छु,
म आफ्नो अशिक्षालाई माया गर्छु,
म आफ्नो दुःखलाई माया गर्छु ।

पहरो फोड्नु र पखेरो उधिन्नुमै
असिनपसिन गरिरहेको देश,
बाटो खन्नु र कुलो फर्काउनुमै
हस्याङ्फस्याङ गरिरहेको देश,
ताउलो तताउन र एक पेट जोर्नमै
ज्युज्यान अर्पिरहेको देश
एक धरो लुगा र एक ढिको नुनकै लागि
नङ्ग्रा खियाइरहेको देश
तिमीलाई बिझ्दो रहेछ ।

सङ्कट, बहादुरमाथि आइपर्छ
सङ्कट, स्वाभिमानीमाथि आइपर्छ
उँभो लाग्नेहरूमा आइपर्छ ।

हाम्रो शत्रु दरिद्रता हो,
योसित लड्छौँ ।
हाम्रो शत्रु हाम्रै पराधीनता हो,
यसको विरुद्ध उठ्छौँ ।
हाम्रो शत्रु निष्क्रियता हो,
यसलाई परास्त गछौँ ।
हाम्रो शत्रु हाम्रै दासता हो,
यसका विरोधमा उठ्छौँ ।
हाम्रो शत्रु तिम्रो अहङ्कार हो
त्यसलाई निरस्त्र पाछौँ ।

नुनमा पनि राजनीति लागेछ,
ओखतीमा पनि राजनीति लागेछ ।
नुन पनि सिमाना भइदिएछ,
ओखती पनि सिमाना भइदिएछ ।
अस्तित्व बेचेर कहाँ नुन खाने गरेको छ र !
‘नमक आन्दोलन’ का अनुभवी तिमी
आफैँभित्र जन्मँदै गरेका
कोतपर्व र भण्डारखालहरूमा
लस्तपस्त भएको बिरसिलो स्वादको
कैदी भोगाई
बिना नुन पनि खाइदिन सक्छु ।

कुरुक्षेत्र न यता छ, न उता छ
बुद्धलाई म मेची–महाकाली तर्न दिन्नँ ।
तिमी कन्याकुमारी नाध्न नदेऊ ।
साँच्चि भन्छु अशोक !
तिमी नभइदिएको भए,
मेरा बुद्ध लुम्बिनी र सारनाथमै
फन्को मारिरहन्थे ।
विश्वास गर,
नेपालले त सुगैली सन्धिमै खाँडो पखालिसकेको छ ।

तिमीलाई सम्राट् बनाउनु
मेरो दुःख रहेछ,
मेरो मृत्यु रहेछ ।
प्रियदर्शी भारत ! भो
तिमीलाई मेरो बुद्ध चाहिएको रहेनछ ।


लुम्बिनीबाटै
बोधिवृक्षको बोट र हाँगाहरू
पठाइदिने छु ।
सट्टामा तिमीले
नुन नपठाए हुन्छ
ओखती नपठाए हुन्छ ।
तेल नपठाए हुन्छ
तर एउटा कुरा भनूँ है !
तिम्रो मुटुको एउटा कुनामा
मेरो लागि अलिकति माया साँचिदिए पुग्छ ।