यज्ञ राज पौडेल

आजकल
अक्सर मान्छेहरू भन्छन्
सबथोक छ
तर पैसा छैन
र त्यही नभएको एकथोक
सबथोक बनेको छ ।

साँच्चै
उहिले
पैसा
आवश्यक जरुर थियो
तर अहिलेजस्तो
सबथोक थिएन ।

आजकल
कसैले सोद्धैन
के काम गर्छस् ?
बस् प्रश्न एउटै छ
कति कमाउछस् ?

जसरी कमाओस्
जहाँबाट
अर्थ रहेन ।

अरूलाइ बेचेर कमाओस्
या आफैँलाइ बेचेर
फरक परेन ।

सिर्फ
दुनियाँलाई देखाउन
आफूभित्रको दम्भको भाँडो
भरिने गरी कमाओस ।

हरेक सम्बन्धलाई
फाइदाको
र हरेक मान्छेको सफलतालाई
पैसाको
तुलोमा तौलिरहेछ
हामी बाँचिरहेको अभिशप्त समय
र त्यसैको तालमा दौडिरहेछ
एकबारको जिन्दगी ।