Chovar Blues Mobile Size

भुवन निस्तेज

 

विजयमाथि पनि विजयी
सर्वशक्तिमान जीवनसञ्जीवनी
अमर रहोस्— यो विजयानुभूति !
अमर रहोस्— यो जिगीषा !

अहिले हामी च्यापिएका छौँ
मृत्युले सोधेका—
दुरूह प्रश्नहरूको भारले
हाम्रा लागि
असान्दर्भिक छ अहिले
तिम्रो विजयको उत्सव।

अमर रहोस्
तिम्रो विजयी मुस्कान
अमर रहोस्
यो जितिछाड्ने आत्मबल !

किन हार्नु र ?
तिमी धितमरुन्जेल
विजयानुभूति अनुभूत नगरुन्जेल
लागिरहू विजयको अन्धदौडमा
पर्खिनेछौँ हामी
सके बाँचेर
नसके ‘कोल्याप्स’ भएर,सङ्ख्या बनेर।
तिमी अडिग रहू, नहार, मुस्कुराइरहू—
दुईचार मान्छे ‘कोल्याप्स’ हुँदैमा
कोल्याप्स कहाँ हुन्छ र सत्ता
र ‘कोल्याप्स’ हुँदैन विजयानुभूति !