ओ रगतले मात्तिएका लामखुट्टेहरू,
टोक
बेस्सरी टोक मलाई
धित मरुन्जेल चुस
मेरा पाखुरादेखि पैँतालासम्मका रस
छानी छानी र रोजी रोजी
घुँ घुँ गर्दै पखेटा पड्काएर
नघुम मेरा कान वरपर
हेलिकप्टर बन्न नखोज हे
६ खुट्टे रक्तवीज हो
बरु
चुपचाप चुपचाप
मेरो पिँडुलामा फुलौरा नपर्ने गरी
चुस तिमीहरूका आहारा
कम्तीमा
दुई थोपा रगत दिन सक्ने
दानी त पक्कै छु म पनि
अलिकति आफू पनि खाओ
लैजाऊ अलिकति
बिहानदेखि भोकाएका
मसिना फुच्चे फुच्ची लामखुट्टेका लागि पनि
मैले जस्तै भुँडी भरेर
बस्नुपर्छ तिनीहरूले पनि।
मेरा बा’ले जस्तै आहार खोज्ने
जिम्मा छ तिमीहरूको पनि।
कुनैदिन
यसरी नै बरन्डामा
भेटिइन भने म
पुग्नेछौँ छिमेकमा
हरि या हरिका बा को रक्तको चुस्की लिन
तर,
तर सबैले कहाँ फुड चेनका बारे सोच्लान् र
त्यसैले भेट्न सक्छौ
हरिका बा’ ले बोकेको ब्याडमिन्टनको थप्पड
अनि करेन्टको जालीमा
चट्टट् चट्टट्
पड्कँदै विलीन हुनेछौ
सृष्टिको कालो शून्यतामा
तर त्यस्तो नहोस्
केहीकदम
यसरी नै बरन्डामा
भेटिइहालेँ भने म
यस्तै मुडमा नहुन सक्छु
याद राख मान्छे खुट्टाले भन्दा बढ्ता
मुडले चल्ने मिसिन हो
त्यसैले
रगतले मात्तिएका लामखुट्टे हो
अहिल्यै टोक
बेस्सरी टोक मलाई
धित मरुन्जेल चुस मेरा
पाखुरादेखि पैँतालासम्मका रस
छानी छानी र रोजी रोजी !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
सन्तोष कार्की
भाद्र ८, शुक्रबार १२:०१