(भगवान् गौतम बुद्धप्रति समर्पित)

भगवान बुद्ध यै भन्नुहुन्छ दुःख छ जगतमा
दुःखका पछि छन् खास कारण दुःख हुन्न फगतमा
ती कारण पनि हुँदैनन् निदान गर्न नसकिने
लौ सुन भन्छु उपाय के छन् जो देखेँ जो चिनेँ ।

न आफूलाई न अरुलाई कसैलाई न ढाटौँ
हतियार बोक्ने त परको कुरा वचनले न काटौँ
हुन नि सक्छ अञ्जानमा गल्ती भएमा पाठ सिकी
छोडिदेऊ गर्न छलछाम मनको फोहोर सब झिकी ।

जे जति गाँस चाहिन्छ जिउन कमाउ त्यो जानी
उब्जनी बढी भैगए पनि ठिकै छ त्यो पनि
एउटा गाँस आफूले खाऊ अर्को गाँस बाँडिदेऊ
अनि पो मिल्छ परम सुख सत्य त्यो जानिदेऊ ।

माया र मोह लोभ र लाभ मान्छेमा रहन्छ
अगाडि बढ्न मनमा आशा राख्नु नै पर्दछ
तैपनि बुझ यी सब चिज ठिक्कको चाहिन्छ
अति नै भए मायामा पनि दुःख पो पाइन्छ ।

 

(पेशाले सिँचाइ इञ्जिनियर डा. वीरेन्द्र केसीको प्रकाशोन्मुख कृति ‘आमाको काखमा दुखेको देश’ कविता संग्रहबाट ।)