म हेरिरहेछु सत्ताको प्रवृत्ति यहाँ
चकित हुन्छु यी यथार्थहरू देखेर
मान्छे भित्रको देवता मारेर
दानव जन्माएको छ
मानवताको दाह संस्कार गरिदिएको छ
हो यही सत्तासीन प्रवृत्ति
जसले फुस्रा आश्वासनहरूको जाल बुन्छ
भन्छ एउटा गर्छ अर्को
गरिबीका आवाज उठाउनेहरू
व्यवहारमा उनैले अत्याचार गर्छन्
आफ्नै खल्ती भर्छन्
हाली मुहाली गर्ने सत्ताको प्रपञ्च
रच्नेहरूले तिनै शकुनीहरू जन्माएका छन्
चिरहरणका व्यथाहरू
फेरि बल्झाएका छन्
आजको भुरे भोलिको ठुलो नेता
अनि सत्ता यस्तो उस्तो भन्दै
ऊ पनि सत्तासीन हुन्छ
जब जब ऊ सत्तासीन हुन्छ
ऊ आफ्ना पुराना दिनहरू भुल्छ
तब तब ऊ पनि फेरि उस्तै बन्छ
अनि देश र जनताको आलो घाउमा
नुन चुक छर्छ
कोही सत्ताकै खेलमा छन्
कोही उपचार नपाई मृत्युको सङ्घारमा छन्
त्यसैले यो मन भन्छ देश बनाऊ
जनता बचाऊ,भोक हटाऊ
समृद्धि बढाऊ तर
अहो ! यो प्रवृत्ति खराब ?
या सत्ता खराब?
या म खराब, या ऊ खराब?
फेरि पनि निरीह भई
म हेरिरहेछु सत्ता प्रवृत्ति
ठुला ठुला काण्ड भए, हत्या भए
हिंसा भए तर दोषी करार भएन
त्यसैले त यो मन भनिरहन्छ
हे मन ! विकास खोइ?
समृद्धि खोइ, सुशासन खोइ?
शान्ति र सुरक्षा खोइ?
उपचार खोइ? अनि न्याय खोइ?
म हेरिरहेछु अनुत्तरित भई
त्यहीँ सत्ताको प्रवृत्ति यहाँ !!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला