तिले दाइ !
मलाई माफ गर,
मैले तिम्रो आरनको आदर्श मेरा बालाई बुझाउन सकिनँ ।
तिमीले खँलाती लाउँदा रापिएको
कोइलाका फिलिङ्गोहरूको आरनमा
आफैँलाई जलाउँदै
समाइ हत्केलाले पहाडजत्रो घनको तोडले हानेर
रित्याउँदै किस्ता-किस्तामा आफ्नो जीवनलाई
जीवन दिएको यो गाग्रीमा
मेरो घरको मूलढोकाको सँघारमा
पानी भरेर राख्दा शुभ हुन्छ ।
तिमीले नै बनाएको यो दियोमा बाती सल्काएर
भगवानलाई पूजा गर्दा घर पवित्र हुन्छ ।
तर, किन बुझ्दैनन् मेरा बाजस्ता थुप्रै बाहरूले
—तिम्रो मनको पवित्रता,
—तिम्रो प्रेमको शुद्धता ?
र,
तिमीलाई यो सङ्घार काटेर भित्र छिर्न बन्देज गरिन्छ !
को होला कुसंस्कारको यस्तो कालो तुषारोपात छर्ने ?
को होला विभेदकारी छुवाछूत यी मस्तिष्कहरूमा भरिदिने ?
कसले भनिदियो होला मेरा बालाई ?
तिमीले बनाएको गाग्रीमा राखेको पानी शुद्ध !
अनि, बनाउने मान्छेचाहिँ असुद्ध !
कमली भाउजू !
मलाई माफ गर,
मैले तिम्रो कलको महत्ता मेरी आमालाई बुझाउन सकिनँ ।
तिमीले,
आफ्नै जीवनलाई कलको सियोमा खिपेर
ढाडमा दुःखको सिङ्गो पहाड बोक्दै
हातले सियोको चोटहरू खपेर सिलाएको चौबन्दीले
छोरीमान्छेको लाज छोपिन्छ ।
तिमीले सिलाएको मयलपोस र सुरूवालले
छोरामान्छेको इज्जत र शान बढ्छ ।
तर, किन बुझ्दैनन् यिनै मान्छेहरू तिम्रो कोमल भावना ?
र, उडाउँछन् तिम्रो लाज !
किन गर्दैनन् यी मानसिक दरिद्रीहरू तिम्रो इज्जत ?
र, तिमीलाई अछूत भनेर छुन मनाही गरिन्छ ।
को होला मानवीय आस्थाको द्वारमा विभेदको रङ्ग पोत्ने ?
कसले भनिदियो होला प्रेमको धागोले सिलाएको
नयाँ लुगा लगाएर दसैँमा विजयको टीका लगाउँदा पवित्र हुने ?
अनि,
कसले भनिदियो होला मेरा बाजस्तै थुप्रै बाहरूलाई ?
बाबुको किरिया सकिएपछि लगाएको नयाँ मयलपोस शुद्ध !
तर, सिलाउने मान्छेचाहिँ असुद्द !
मित्र सनम !
मलाई माफ गर,
मैले तिम्रो चोटको अचानोको गहिराई कसैलाई बुझाउन सकिनँ ।
तिम्रो भावनाहरूमा ठोकिएको किला निकाल्दै
च्यातेर आवश्यकताका छालाहरू
ढालेर साँचोमा विभेदका आदिम चोटहरू
सिलाइरह्यौ, ठोकिरह्यौ र बनाइरह्यौ
खुट्टाका शोभाहरू र सम्मानहरू ।
तर, किन बुझ्दैनन् तिनै जुत्ताधारीहरूले अलिखित भावनाका समीकरण ?
किन सिलाउँदैनन् तिम्रो च्यातिएको मन ?
र, तिमीलाई तल्लो बनाउँछन् कथित उपल्लाहरू
गुमनाम तिम्रा उत्पादनका उपभोक्ताहरू !
को होला कुरुप आस्थाको बर्को ओढेर आडम्बर ओछ्याउने ?
कसले भनिदियो होला भावना हराएका मेरा आफन्तलाई ?
तिमीले बनाएको शोभा उनीहरूको सुरक्षाकवज !
तर, तिमीचाहिँ भयङ्कर जोखिम !
आज युगले बोकेर ल्याएको बाढीले
धैर्यताका बाँधहरू फुटालेपछि
गाग्रीको पानी छताछुल्ल पोखिएको छ
आडम्बरको जगमा उभिएका अभिमान
अनि,
पाखण्ड र अन्धविश्वासले भरिएको मष्तिष्कमा पहिरो गएको छ ।
त्यसैले, आज म ढुक्कले सुत्नेछु
तिमी मेरो सपनामा आउनु नवराज !
हामीले अझै मानवीय प्रेमको अनन्त बाढी ल्याउनुपर्छ
ता कि,
भोलिको सूर्योदयसँगै बगेको प्रेमको कलकल झरनामा
सबै प्रकृतिका सृजनाहरूले समानरूपमा जीवनरूपी पानी पिउन सकून्
र, बुझून् प्रेमको अमर–भाषा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

