सुशील सुब्बा ‘सिटोंग’ (दार्जीलिङ)

प्रश्न अनि प्रश्नहरू … 

के गल्ती गरे होलान् !
पैगम्बर अब्राहमले,
प्रोफेट मोहम्मदले,
प्रभु येशुले
त्यो पवित्र धरतीमा
त्यो पुण्यभूमिमा पाइला टेकेर ?
आ–आफ्नै आस्थाहरूको
गौरवशाली इतिहास बोकेको
पावन भूमिमा आज किन
धर्मयुद्धको आगो सल्किरहेछ ?
ती अलौकिक मार्गदर्शकहरूले
मानवता अनि धर्मनिरपेक्षताका पाठ
कसैलाई सिकाएनन् त ?
हिब्रू बाइबल, कुरान र पवित्र बाइबिलहरूमा
के यही संहार लेखेर गए ?
के यो त्यही अवधारणामा
‘क्रूसेड’ कै पुनरावृति हो त ?
त्यसो भने, तिमीहरूको धर्मयुद्धमा मारिएकी
तिमीहरूकै सेवामा समर्पित परिचारिका
हाम्री ‘सौम्य सन्तोष’ को के दोष ?
कहाँ गए अहिले –
‘टेम्पल माउन्ट’ को भग्नावशेष ‘वेस्टर्न वाल’ मा
टाउको झुकाएर याचना गर्ने
पैगम्बर अब्राहमका अनुयायीहरू ?
कहाँ छन् यो बेला –
‘हरम अल शरीफ़’ भित्र नमाजमा निहुरिएका
प्रोफेट मोहम्मदका सन्तानका हत्केलाहरू ?
खोई कता हराए –
‘पवित्र चिहानको चर्च’ भित्र लामबद्ध भएर
प्रार्थना गर्ने परमेश्वरका परम् भक्तहरू ?
नरसंहारले रक्तरन्जित
पुनीत धरतीको आकाशमाथि
रुँदै होलान् अब्राहम, मोहम्मद अनि येशुका
आँखा अनि मनहरू |
अदृष्य कोभिडको सङ्क्रमणले
विश्व छट्पटाइरहेको यो क्षण
मानव अस्तित्व नै सङ्कटमा परेको यो घडी
वर्चस्वको लडाइँ केको निम्ति ?
‘हमास’को धमास किन ?
के यो हाम्रो आस्था एवं धर्म
– युद्धको निम्ति हो ?
– संहारको निम्ति हो ?
– हत्याको निम्ति हो ?
– विनाशको निम्ति हो ?
तिमीहरुलाई नै, महाउपनिषद्बाट –
“अयं निज: परो वेति गणना लघुचेतसाम् |
उदार चरितानां तु वसुधैव कुटुम्बकम ||“