बा, सुस्ताएको छ राजधानी यतिबेला
गुनासो नगर्नु तपाईंले
राजधानीको मुटु, हाम्रो सरकार
निदाइरहेको छ,
म यसको मुटुमै बसेर
हेरिरहेकी छु कोलाहल खिचातानी
रहर बेचिएकै छन् यहाँ
सपना किनिएकै छन्
तपाईंकी छोरी उमङ्गका रहरहरु बेचेर
भविष्यका सपनाहरु किनिरहेकी छे!

बा, म चाहन्थेF
मेरा रहरले
तपाईंका सपना किन्न सकूँ
तर, यहाँ स्वर्णिम बजारमा निषेधाज्ञा रहेछ
हुन त, ढुङ्गामा देवता देख्ने यी आँखाले
राक्षस पनि ढुङ्गामै खोजिरहे
तर, राक्षस त आजकल
मनुष्यका अनुहारको मुखौटा ओढेर हिँड्दो रहेछ !

अस्ति मात्रै हो, आँखैअगाडि देखेँ
विभत्स, क्रुर विध्वंस
एक निर्दोषको हत्या
अग्रपङ्क्तिमा थियो उही चिरपरिचित अनुहार
रगत लत्पतिएको कमीज लाएर उभिएको;
हिजो मात्रै न्यायालयको तराजु हरायो
साँझ चर्चित रेस्टुरेन्टको कुनाको टेबलमा
उसले त्यही तराजु, साट्यो मोटो रकमसँग
आज उही
माइतीघरको छेवैमा विरोध सभाको अघिल्तिर
नारा लगाउँदै थियो न्यायको
तर बा,
तपाईंको पसिनाको कमाइले
कति छिट्टै उसले त सुकिलो कमीज फेरिसकेछ
अबोधका आँसुले मुख धुन भ्याइसकेछ!!

आजबाट मैले पनि
मष्तिस्कमा सन्त्रासको `एटम बम´ बोकेर
मुहारमा मुस्कानको धराप लिएर
हिंडिरहेकी छु
आस्थाका महाभारतसँगै श्रद्धाका शिखरहरु चढ्न
विश्वासको गोरेटोमा, योग्यताको क्षीण तरबार लिएर
सुर्ता नगर्नु बा,
तपाईंकी छोरी यतिबेलासम्म सकुशल छु!!