अन्तर पुकार  (शार्दूलविक्रीडित छन्द)

 

जगदीश पाण्डेय

हे आमा अब जन्म हुन्न जगमा चेलीहरूको कवै

हुर्केका नव बीज ती उदरमै रोकेर फाल्छन् सबै

मैले हार गुहार माग्दछु भने को सुन्छ मेरो कुरा

मेरो चक्र विनाश गर्न अहिले बढ्दै गए माकुरा ।१।

 

सीतासाथ रमेर राम कसरी पूरा भएका थिए

राधासाथ रहेर श्याम कसरी प्यारा भएका थिए

बुझ्दैनन् किन आज यी मनुजले त्यो ज्ञानको सागर

मेरो श्वास छुटाउने नियतिमै हुन्छन् सदा तत्पर ।२।

 

छोरा मात्र भनेर बढ्छ दुनियाँ संसारमा खै किन

मेरो हंस पुग्यो भने नजरमा पुग्छन् सबै झम्टिन

सम्झिन्नन् किन हो सधैँ मनुजले याे सृष्टि के हो भनी

बन्दैछन् दिनरात व्यर्थ रमिते पापिष्ट ती बैगुनी ।३।

 

कोही कानुनका खिलाप रहँदै छर्छन् यहाँ दुर्मति

कोही कानुन या विधान नपढी पार्छन् यहाँ दुर्गति

कोही शास्त्र पढेर भ्रामक बनी गर्छन् अनेकौँ छल

कोही अस्त्र लिएर उग्र बलले पार्छन् सबै निर्बल ।४।

 

नौलो ज्ञान बढ्यो यहाँ भुवनमा बन्दैछ जो घातक

मेरा आश प्रकाश हुन्न तब ता बन्दैछ यो बाधक

हाम्रा धर्म कथा तथा स्मरणले जो देव भन्थ्यो सदा

मारिन्छन् किन आज जन्म नदिई चेलीहरू सर्वदा ।५।